काठमाडौं, २६ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी आन्दोलन र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरुले सिध्याउन खोजेको भन्दै रक्षा गर्न आग्रह गरेका छन् ।
शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रान्तिकारीहरुले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धिहरु उल्ट्याउने अभियानमा तारो माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई सिध्याउन खोजेको बताएका हुन् ।
उनले प्रचण्ड भन्ने व्यक्ति नभई तपाईं हामी सबै लडेर निर्माण गरेको बताए । प्रचण्ड भन्ने कुरा नेपाली जनताले जन्माएको बताउदै एउटै युगमा एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुन नस्कने बताए । उनले भने, ‘थुप्रै माक्र्स, लेनिन र माओ हुँदैनन् एउटा समय र एउटा कालमा । जनता, आन्दोलन, संघर्ष, बलिदानले पैदा गर्ने हो, सही विचारले पैदा गर्ने हो । सही निर्णयहरुले पैदा गर्ने हो । यसलाई वर्ग संघर्षको रुपमा प्रतिक्रियावादीहरुले सिध्याउन खोज्छन् । जनताले त्यसलाई बचाउन खोज्छन् ।
उनले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको भन्दै मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताए । अध्यक्ष दाहालले आराम गर्दै, रमाइलो मान्दै जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै समाजवादतर्फ इमान्दार हुने कम्युनिष्टहरु ढिलोचाँडो पुरानो घरमा फर्किएर आउने बताए ।