आप्रवासी सङ्कट: युरोपमा ग्यास आपूर्ति रोकिदिने बेलारुसको धम्की
अखबार टुडे
प्रकाशित:
२०७८, २६ कार्तिक

काठमाडौं, २६ कार्तिक । बेलारुसका राष्ट्रपतिले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्धहरू लगाइएमा युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिएको बीबीसीले जनाएको छ।

बेलारुसमा लामो समयदेखि सत्तामा रहेका नेता एलेक्जेन्डर लुकासेन्कोले एउटा चेतावनी दिँदै प्रतिबन्ध लगाइएमा आफूहरूले जवाफ दिनुपर्ने’ बताएका छन् । बेलारुस हुँदै ईयू जाने रुसी ग्यास पाइपलाइनलाई सङ्केत गर्दै उनले भने, ‘हामीले उनीहरूलाई न्यानो पारिरहेका छौँ र उनीहरूले हामीलाई धम्क्याइरहेका छन् ।’

उन्ले थपे, ‘हामीले ग्यास आपूर्ति रोकिदियौँ भने के होला ? त्यसैले पोल्याण्ड, लिथुआनिआका नेतृत्व र अन्य खाली हात बसेका मानिसहरूलाई बोल्नुअघि सोच्न म सुझाव दिन्छु । लुकासेन्कोको अभिव्यक्तिले युरोपमा अहिले नै अभाव र उच्च मूल्यमा रहेको ग्यासलाई लिएर नयाँ चिन्ता उत्पन्न भएको छ ।

बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ अर्थात बेलारुस–पोल्याण्ड सीमामा धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोपेली सङ्घ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेको बीबीसीले जनाएको छ ।

ईयू अधिकारीहरूले बेलारुसलाई उक्त सङ्कटलाई उचालेर सुरक्षा अवस्था बिगारेको आरोप लगाएका छन् । तर मिन्स्कले त्यसलाई अस्वीकार गर्दै आएको छ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पश्चिमा सदस्य राष्ट्रहरूले पोल्याण्डसँगको सीमामा उत्पन्न आप्रवासी सङ्कटबारे बोल्दै बेलारुसका कदमको आलोचना गरेका छन् ।

प्रतिक्रिया