हाइटीमा पानीको अभाव: हरेक दिन वर्षाको लागि ‘प्रार्थना’ गर्दै
अखबार टुडे
प्रकाशित:
२०७८, २५ कार्तिक

काठमाडौं, २५ कार्तिक (एजेन्सी) । युद्धग्रस्त देश हाइटीमा विभिन्न गिरोहहरूले पेट्रोल र डिजल बोकेका ट्याङ्करलाई राजधानी प्रवेशमा रोक लगाएपछि इन्धन र खानेपानीको चरम अभाव भएको छ ।

इन्धन नहुँदा पानी पम्प चलाउन नपाएको र अहिले हाइटीको राजधानी पोर्ट ओ प्रिन्सका बासिन्दाले हरेक दिन पानीका लागि प्रार्थना गर्नुपरेको स्थानीयवासीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गिरोहहरूले बोतलको पानीको ढुवानीमा पनि अवरोध गरिरहेकाले धेरै बासिन्दा वर्षाको पानीमा भर पर्नुपरेको छ । यस्तै अस्पतालमा जेनेरेटर चलाउने इन्धन नहुँदा हजारौँ बिरामीको ज्यान जोखिममा परेको छ ।

गिरोहहरूले ढुवानी चालकलाई धम्की दिएका कारण चालकहरू पेसाबाट नै पलायन हुन थालेका छन् । हाइटीका राष्ट्रिय प्रहरीका प्रमुख फ्रान्ज एल्बेले इन्धनको सुरक्षित वितरणका लागि अहिलेसम्म चालिएका कदम असफल भएको र अवस्था थप भयावह हुँदै गएको बताएका खबरमा उल्लेख छ ।

हाइटीमा एक सय ६२ गिरोह समूहका सयौँ सदस्य रहेको अनुमान छ । सबैभन्दा शक्तिशाली र ठूलो गिरोह पूर्व प्रहरी प्रमुखको रहेको छ । गएको जुलाईमा राष्ट्रपति जोभेनल मोइसको हत्यापछि अवस्था झनै असहज बन्दै गएको छ, आपराधिक गिरोहका सामु नेताहरू निरीह बन्दा हत्या, आतङ्क, जबरजस्ती लगायतका आपराधिक गतिविधि बढेका छन् । आपराधिक गिरोहले यो वर्ष मात्रै आठ सय अपहरणका घटनामा १७ मिलियन डलर फिरौती मागेका खबरमा उल्लेख छ ।

प्रतिक्रिया