युवक हत्या प्रकरण: आठ जना सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०७८, २४ कार्तिक

कैलाली, २४ कार्तिक । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेका छन् । मङ्गलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा आठ जनालाई सार्वजनिक गर्दै प्रहरीले अनुसन्धान सुरु गरेका हुन् ।

पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका छन् ।

दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले आज (बुधबार) दिनभर पूर्वपश्चिम राजमार्गको लम्कीमा चक्काजामसमेत गरेका थिए । अभियुक्तलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने भनेपछि दिनभरसम्म शव टीकापुर अस्पतालमै रहेको थियो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दोषीलाई कारबाही गर्ने सहमतिअनुसार आजै साँझ आफन्तले शव बुझेको बताएको छ । उनले अझै पनि घटनामा संलग्न केही फरार रहेको जनाउँदै उनीहरुको खोजीकार्य भइरहेको बताए ।

प्रहरीले घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार बडुवाललाई सुरूमा टीकापुरस्थित केराबारीमा पु¥याइएको र त्यहाँबाट लखेट्दै–लखेट्दै होटल सिद्धार्थनजिक पु¥याएर हत्या गरिएको थियो । बडुवाललाई खुकुरी र टाउकोमा रड प्रहार गरेको देखिएको कैलालीका एक प्रहरीले बताएका छन् । आक्रमणपछि घाइते भएका बडुवालको टिकापुर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया