
काठमाण्डौं, २४ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन् ।
बुधवार कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताउँदै प्रजातन्त्रको विरुद्धमा नलाग्न चेतावनी दिएका हुन् । उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा कोचेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिए ।
प्रधानमन्त्री देउवाले भने, ‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन । मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिन सरकार भने, तर मलाई जेलमा थुनियो, त्यस कारण एकाएक नागरिक तातिए, प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरू हुनै सक्दैन ।
उनीहरूले आएर चुनाव लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ, यो अहिले सबैभन्दा राम्रो संविधान छ, समावेशी, समानुपातिक छ, सबैलाई अटाएको छ, केही समस्या आउन सक्छन्, हामीले प्रजातान्त्रिक ढङ्गबाटै समाधान गर्नुपर्छ ।’
कार्यक्रममा प्रधानमन्त्री देउवाले २०६२/६३ को जनआन्दोलन सफल पार्न आम प्राध्यापकको नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल प्राध्यापक सङ्घका तत्कालीन अध्यक्ष प्रा खगेन्द्रप्रसाद भट्टराईलाई स्वर्ण पदकबाट विभूषित गरेका थिए ।
