विवाह बन्धनमा बाँधिइन् नोबेल शान्ति पुरस्कार विजेता मलाला
अखबार टुडे
प्रकाशित:
२०७८, २४ कार्तिक

काठमाडौं, २४ कार्तिक (एजेन्सी) । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले बेलायतको बर्मिङ्घमस्थित घरमा आफ्ना प्रेमी आसिरसँग वैवाहिक सम्बन्ध गाँसेको घोषणा गरेकी छन् । मलालाले ट्विटरमार्फत् आसिरसँग मुस्लिम परम्पराअनुसार ‘निकाह’ गरेको घोषणा गरेकी हुन् ।

मलालाले के भनिन् ?
उनले जिन्दगीको महत्वपूर्ण क्षण सार्वजनिक गर्दै २४ वर्षीया मलालाले मंगलबार आधिकारिक ट्वीटरमा लेखेकी छन्, ‘आजको दिन मेरो जिन्दगीको अमूल्य दिन हो । आसिर र म आजबाट जीवनसाथीका रूपमा जिन्दगी बिताउँदैछौं । हामीले बर्मिङ्घमस्थित घरमा परिवारका सदस्यहरूमाझ सानो निकाह आयोजना गर्यौं । हामीलाई तपाईंहरूको शुभकामनाको खाँचो छ । जिन्दगीको आगामी यात्रा सँगसँगै हिँड्न लागेकामा हामी उत्साहित छौं ।’

को हुन् मलाला ?
मलाला युसुफजाईको जन्म पाकिस्तानमा भएको थियो । मलाला यूसुफजईमाथि पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको स्वातमा ९ अक्टुबर २०१२मा घातक हमला भएको थियो । चरमपन्थीहरुले उनको टाउकोमा गोली प्रहार गरेका थिए । मलाला त्यतिबेला १५ वर्षकी थिइन् । उनले किशोरीहरूको शिक्षाको अधिकारका लागि आवाज उठाउँथिन् । उनले भनेकी थिइन्, ‘यहाँ छोरी जन्मिनुलाई सधैं उत्सवका रूपमा लिइँदैन ।’ यसबाट रुष्ट तालिबान चरमपन्थीले उनी सवार स्कुल बसमा अन्धाधुन्ध गोली बर्साएका थिए । यसबाट मलाला र उनका दुई साथी घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि इंग्ल्याण्ड पठाइएको थियो ।

कयौं महिनाको शल्यक्रिया र पुनर्स्थापनापछि उनले त्यहीँ बसेर बालिका शिक्षा क्षेत्रमा वकालत गर्दै आएकी छन् । सन् २०१४ मा उनी बेलायतको नयाँ घरमा आफ्नो परिवारसँग बस्न थालेकी थिइन् । आफ्नाो बुवाको सहयोगमा उनले मलाला कोष स्थापना गरिन् जसले बालिका शिक्षामा सहयोग गर्दै आएको छ ।

कम उमेरमै बालिका शिक्षा क्षेत्रमा काम गरेबापत् उनको योगदानको कदर गर्दै सन् २०१४ डिसेम्बरमा मलालालाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनी सबभन्दा कम उमेरकी नोबेल विजेता हुन् । उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सन् २०२० मा दर्शन, राजनीति र अर्थशास्त्रमा ग्र्याजुएट गरेकी थिइन् ।

प्रतिक्रिया