मोतीपुर घटना: मृतक परिवारलाई ५ लाख ५० हजार राहत दिने सरकारको निर्णय
प्रकाशित:
२०७८, २३ कार्तिक
काठमाडौं, २३ कार्तिक । सरकारले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनामा ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज मङ्गलवार सार्वजनिक गर्दै मोतीपुर घटनाका मृतकका परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग र ५० हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गत २४ असोजमा एक समूहले बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए ।
घटनालगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रति परिवार पाँच लाख रुपैयाँ उपलब्ध गराउन केन्द्र सरकारलाई र एक लाख रुपैयाँ उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारलाई सिफारिस गरेको थियो ।
प्रतिक्रिया