वागमतीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत प्राप्त
अखबार टुडे
प्रकाशित:
२०७८, २२ कार्तिक

हेटौंडा, २२ कात्तिक । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् ।
सोमबार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत खसेको हो । त्यस्तै उनको विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेको छ ।

सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले उनले विश्वासको मत पाएको बताए । सोमबार प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्य उपस्थित भएका थिए ।

पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । नेकपा एमाले र विवेकशील साझा पार्टीले विपक्षमा मत दिएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोहि कारण आज मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया