
काठमाडौं, २२ कार्तिक । अमेरिकाले २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै सोमवारबाट पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई आफ्नो सीमा खुला गर्दैछ ।
पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए । ब्रिटेन र युरोपेली सङ्घका देशहरू सहित ३० भन्दा बढी देशहरू अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुर्नमिलन हुन पाएको थिएन र पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो ।
नयाँ नियमसँगै विमानसेवाहरूले आगन्तुकहरूको आउनेजाने क्रम बढ्ने अपेक्षा गरेका छन् । आगन्तुकहरूको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अधिकारीहरूले बताएका छन् । अब यात्रुहरूले उड्नु अगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिन भित्रको कोभिड नेगिटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ । तर उनीहरू क्वारन्टिन बस्नुपर्ने छैन । अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा आएका सात मुख्य खोपहरूलाई त्यसक्रममा मान्यता दिइँदैछ ।
कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरियो । अब क्यानडा र मेक्सिकोसँगको जमिनतर्फको सीमा पूर्ण खोप लगाएकालाई खुला गरिने बीबीसीले जनाएको छ ।
