टी-२० विश्वक: भारत एक खेलअघि नै समूह चरणबाटै बाहिरियो
अखबार टुडे
प्रकाशित:
२०७८, २१ कार्तिक

काठमाडौं, २१ कार्तिक । युएईमा जारी टी–२० विश्वकपमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि सहज जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

आइतबार आबुधावीमा भएको खेलमा अफगानिस्तानले दिएको १२५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रन जोड्न सफल भयो । अफगानिस्तानका लागि नजिबुल्लाह जरदानले सर्वाधिक ७३ रन बनाए । उनले ४८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे ।

जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले ११ बल बाँकी छँदै २ विकेटको क्षतिमा लक्ष्य भेटायो । न्युजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ४१ रन र डेभोन कोनवेले ३५ रन बनाए ।

यसैबीच, न्युजिल्यान्डको जितसँगै भारत एक खेलअघि नै समूह चरणबाटै बाहिरिएको छ । भारत सेमिफाइनल पुग्ने सपना अधुरै भएको छ । यदि अफगानिस्तानले जितेको भए भारतको आशा कायमै रहने थियो भने अफगानिस्तान र न्युजिल्यान्डको पनि सम्भावना रहने थियो । तर आजको खेलमा न्युजिल्याण्डले जितेसँगै अफगानिस्तान र भारत दुबैको सेमिफाइनल दौड सकिएको छ । पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया