सियराको लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा ८४को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २० कार्तिक

काठमाडौं, २० कार्तिक । सियरा लिओनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग जुधेर विस्फोट हुँदा कम्तीमा ८४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

फ्रीटाउनका मेयर वाइभोन अकि सवेरले भने ‘त्रासदीपूर्ण’ तस्बिर देखेको भन्दै १०० भन्दा बढीको ज्यान गएको बताए । शवगृहमा ९० भन्दा बढी शवहरू पुगेको र फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जना जति मानिसको उपचार भइरहेको बताइएको छ । विस्फोट सहरको वेलिंगटन क्षेत्रको व्यस्त चोइथ्राम सुपर मार्केट बाहिरको एक चोकमा शुक्रवार करिब दश बजे भएको बताइएको छ ।

आगलागी हुनु अघि इन्धन पोखिएको र त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधनमा सल्किएको बताइएको छ । स्थानीय मिडियाले प्रकाशित गरेका तस्बिरमा ट्याङ्कर वरिपरि नराम्ररी डढेका शवहरू देखिन्छ । एक रिपोर्टका अनुसार मानिसहरूले भरिएको बस पूर्ण रूपमा जलेको छ । जसका कारण घटनास्थल वरपरका पसलहरू समेत आगोको ज्वालाका कारण प्रभावित छन् ।

राष्ट्रपति जुलियस मादा बायोले ’दुखान्तकारी आगलागी र मानिसको ज्यान गएका कारण आफूलाई गहिरो दुख लागेको’ बताएका छन् । ट्वीट गर्दै राष्ट्रपतिले पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

एक लाखभन्दा बढी मानिस बसोबास गर्ने यस बन्दरगाह सहरमा, पछिल्ला वर्षहरूमा निकै गम्भीर प्रकोपहरूको सामना गरेको छ । गत मार्चमा सोही सहरको एउटा बस्तीमा भीषण आगलागी हुँदा ८० जना भन्दा बढी व्यक्ति घाइते भएका थिए । घटना लगत्तै करिब ५ हजार मानिस विस्थापित हुनु परेको थियो ।

त्यस्तै सन् २०१७ मा भारी वर्षापछि आएको बाढीमा परेर एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। बाढीले पछि सहर प्रभावित पारेको थियो जसका कारण ३ हजार मानिस घरविहीन भएका थिए।

प्रतिक्रिया