काठमाडौं, १९ कार्तिक । युरोपभरि कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा उक्त महादेश पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ ।
डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताए । उनले खोप पर्याप्त मात्रामा नलगाइँदा सङ्क्रमितको सङ्ख्या बढको बीबीसीले जनाएको छ ।
सङ्क्रमण बढ्दै गएकोमा चिन्ता गर्नुभन्दा सुरुमै सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नुपर्ने उनको भनाइ छ । हालैका महिनामा युरोपमा खोप लगाउने दर घटेको थियो ।
स्पेनमा करिब ८० प्रतिशत मानिसले दुवै मात्रा खोप लगाएका छन् भने फ्रान्स र जर्मनीमा भने क्रमशः ६८ र ६६ प्रतिशतले मात्रै लगाएका छन् । पूर्वी र मध्ययुरोपका केही देशमा त खोप लगाउनेको सङ्ख्या अझै कम रहेको छ । सन् २०२१ को अक्टोबरसम्ममा जम्मा ३२ प्रतिशत रुसीहरूले मात्रै पूर्ण मात्रा खोप लगाएका छन् ।
डब्ल्यूएचओका युरोप प्रमुख क्लुग्अले सङ्क्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका कारण पनि सङ्क्रमण बढेको बताएका छन् । जनस्वास्थ्यका अधिकारीहरू भने सङ्क्रमणको चौथो लहरले स्वास्थ्य प्रणालीमा ठूलो दबाब पर्ने र धेरै सङ्ख्यामा मानिसहरूको मृत्यु हुनसक्ने भन्दै चिन्तित बनेका छन् ।