काठमाडौं, १८ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउने सपना नदेख्न आग्रह गरेका छन् । लाखौं नेता कार्यकर्ताको बलमा स्थापित भएको पार्टी भएकाले कसैले सिध्याउन खोजे पनि त्यो सम्भव नरहेको ओलीले बताए ।
बिहीबार ‘गन्तव्य मध्यपुरथिमि’ पुस्तकको विमोचन कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘कसैले कुरु क्षेत्र बनाउँछु भनेका छन्, कोहीले भ्याकुम लगाएर एमाले बढार्छौँ भनेका छन् रे, भक्तपुरमा आएर कुर्लनु पर्दैन, त्यस्ता सपना नदेखे हुन्छ ।’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई गणतन्त्र बिरोधी भनेको सन्दर्भ कोट्याउँदै उनले दाहालको भन्दा २५ वर्षअघि आफू गणतन्त्रको कुरा उठाउँदा जेल परेको बताए ।
‘अनेक प्रकारका झुठा र भ्रमपूर्ण कुरा फैलाउनु पर्दैन, कुरु क्षेत्र बनाउने भनेर धम्क्याउनु पर्दैन, नेपाल अब शान्ति क्षेत्र, धर्म क्षेत्र हुन्छ’, अध्यक्ष ओलीले भने । सरकारमा हुँदा एमालेले असाधारण काम गरेको उनको भनाइ थियो । ‘हामीले विकासका काम थुप्रै ग¥यौँ, हामीले गरेको विकास हेरे हुन्छ’, ओलीले भने ।