
काठमाडौं, १८ कार्तिक । इरान र अन्य छ देशबीच सन् २०१५ मा भएको ऐतिहासिक परमाणु सम्झौतालाई ब्यूँताउने उद्देश्य राखेर गर्न लागिएको वार्ता यसै महिना हुने भएको छ ।
इरानका प्रमुख वार्ताकार अली बगेरी कनीले सरकारले आउँदो नोभेम्बर २९ तारिखमा उक्त वार्ताका लागि भियनामा भेट्न सहमति जनाएको बताएका हुन् । बुधवार आफ्नो ट्वीटरमा प्रमुख वार्ताकार कनीले लेखेका छन्, ‘गैरकानुनी र अमानवीय प्रतिबन्धहरू हटाउने उद्देश्य राखिएको वार्ता नोभेम्बर २९ तारिखमा भियनामा हुने सहमति भएको छ ।’
इरानमा गत जुन महिनामा कट्टरपन्थी नयाँ राष्ट्रपति निर्वाचित भएयता वार्ताहरू रोकिएका थिए । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका पालामा उक्त सम्झौताबाट अमेरिका पछि हटेको थियो तर वासिङ्टनले भने त्यसयता फेरि सामेल हुनसक्ने बताउँदै आएको छ ।
बाइडन प्रशासनले भियनामा हुने वार्ताका लागि अमेरिका उपस्थित हुने जनाएको छ । उक्त वार्तामा सम्झौताका अन्य हस्ताक्षरकर्ता यूके, चीन, फ्रान्स, जर्मनी र रुस पनि उपस्थित हुनेछन् ।
इरानका राष्ट्रपति इब्राहिम रइसीले वार्तामा कडा अडान राख्ने ठानिएको बीबीसीले जनाएको छ । सन् २०१५ मा भएको सम्झौता अनुसार, इरानले युरेनियम प्रवर्द्धनमा रोक लगाउनेमा सहमति जनाएको थियो । त्यसका साथै उसले अन्तर्राष्ट्रिय निरीक्षण अनुमतिका लागि पनि सहमति जनाएको थियो ।
त्यसको बदलामा उसमाथि लागेका प्रतिबन्धहरू हटाइएको थियो । तर पूर्वराष्ट्रपति ट्रम्प सन् २०१८ मा उक्त सम्झौताबाट पछि हटे र पुनः प्रतिबन्धहरू लगाए । प्रतिबन्धहरू पुनः लगाइएयता विदेशी बैंकहरूमा रहेको आफ्नो अर्बौँ डलर सम्पत्तिको पहुँच इरानले गुमाएको छ ।