चीन सरकारले आफ्ना नागरिकलाई किन उपभोग्य सामग्री खरिद गरेर राख्न आग्रह गरे ?
अखबार टुडे
प्रकाशित:
२०७८, १७ कार्तिक

काठमाडौ, १७ कात्तिक । चीनमा सरकारले सर्वसाधारण आफ्ना नागरिकलाई आवश्यक उपभोग्य सामग्री खरिद गरेर राख्न आग्रह गरेपछि बजारमा किनमेल गर्नेको भीड लागेको छ । ‘आपत् परेको खण्डमा’ भन्दै सरकारले आवश्यक उपभोग्य सामग्री किनेर राख्न आग्रह गरेको हो । बिबिसीले जनाएअनुसार चीनको वाणिज्य मन्त्रालयले प्रकाशित गरेको सूचनामा कुनै कारण भने खुलाइएको छैन ।

तर, धेरै ठाउँमा कोरोनाभाइरसको त्रास फैलिएकाले लकडाउन लगाइएको र अतिवृष्टिका कारण खेती बिग्रिएकाले तरकारीको आपूर्तिबारे चिन्ता व्यक्त भइरहेको बेला चीन सरकारले त्यस्तो सुझाव दिएको बताइएको छ ।

सरकारले स्थानीय निकायहरूलाई उपभोग्य सामानको निरन्तर आपूर्ति गराउन तथा मूल्य स्थिर राख्न निर्देशन दिएको खबरहरु सार्वजनिक भएको छ । त्यस्तो सूचना जारी भएपछि सर्वसाधारण मानिस आत्तिएर किनमेल गर्न गएका थिए । सरकारी सञ्चारमाध्यमले उनीहरूलाई शान्त पार्न खोजेको थियो ।

‘बिबिसीले जनाएअनुसार ‘यो समाचार आउनासाथ वृद्ध मानिसहरू आत्तिए, सुपरमार्केटमा किनमेल गर्नेको भिड लाग्यो’ एक जनाले चिनियाँ सामाजिक सञ्जाल वेबोमा लेखे । चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध भएको मानिने इकोनमिक डेलीले आफ्ना पाठकलाई नआत्तिन आग्रह गरेको छ ।

सरकारले लकडाउन घोषणा गरेको खण्डमा सामान अभाव नहोस् भन्ने सरकारले चाहेको उसले जनाएको छ । पीपल्स डेली समाचारपत्रका अनुसार त्यस्ता सूचनाहरू अस्वाभाविक हैनन् । तर अहिले तरकारीको भाउ बढेको तथा कोभिडका नयाँ बिरामी फेला परिरहेको बेला त्यस्तो सूचना आएको छ ।

चीनमा हिउँदको समयमा खाद्यपदार्थको मूल्य बढ्ने गर्छ । तर, प्रतिकूल मौसमका कारण केही सातादेखि तरकारीको भाउ अकासिएको छ । कोरोनाभाइरस महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप चीनमा निरन्तर कडा लकडाउन लगाइएको छ ।

फेब्रुअरीमा आयोजना गर्न लागिएको ग्रीष्मकालीन ओलिम्पिक्सअगाडि नै कोरोनाभाइरस सङ्क्रमण शून्यमा झार्न चीनले खोजेको छ । चीनमा सोमबार ९२ जनामा कोभिड पुष्टि भएको थियो । यो सप्ताहान्तमा घर फर्किएका एक व्यक्तिमा कोभिड पुष्टि भएपछि शाङ्घाई डिज्नील्यान्ड कम्तीमा दुई दिन बन्द गरिएको थियो ।

प्रतिक्रिया