नेपाली फुटबल: यस्ता छन् अलमुताइरीले सार्वजनिक गरेको तीन बर्षको योजना
अखबार टुडे
प्रकाशित:
२०७८, १६ कार्तिक

काठमाडौं, १६ कार्तिक । साफ फुटबल प्रतियोगितामा नेपाली टोलीलाई पहिलो पटक फाइनल पु¥याएका प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ ।

नेपाल फर्किएपछि पहिलो पटक अब्दुल्लाह आज मङ्गलवार आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय र अलमुताइरीबीच नेपालको जर्सीसहित २०२४ सम्मका लागि औपचारिक सम्झौता भएको हो ।

अलमुताइरीले प्राप्त गर्ने तलब कतार फुटबल सङ्घले उपलब्ध गराउनेछ । एन्फाले नेपाल बस्ने क्रममा यातायात र सञ्चारका केही रकम दिँदै आएको छ । साफ अघि नेपालमै रहँदा पनि एन्फाका उपाध्यक्षसँगको विवादपछि राजीनामा दिने घोषणा गरेका अबदुल्लाह अलमुताइरी गएको हप्ता कतार फुटबलसँगको सम्झौतापछि नेपाल फर्किएका हुन् । नेपाली राष्ट्रिय टोलीसँगको नयाँ सम्झैतापछि आफू खुसी भएको बताउँदै अबदुल्लाहले नेपाली समर्थक र खेलाडीको मायाले नेपाल फर्किएको बताए ।

यस्ता छन् अलमुताइरीले सार्वजनिक गरेको योजना
आज भएको पत्रकार सम्मेलनमार्फत उनी आउँदो तीन वर्षको योजनासहित सार्वजनिक भए । तीन चरणमा काम गर्ने योजना सार्वजनिक गरेका अलमुताइरीले सुरुवाती पहिलो चरणको एसिया कप छनोटका कार्यक्रम मात्र सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको योजिनामा यही महिनाको अन्तिमदेखि सुरू हुने सहिद स्मारक ए डिभिजन लिगपछि नेपाली टिमको बन्द प्रशिक्षण सुरु गर्ने उनको योजना छ । योजनाअनुसार काम भए जनावरीदेखि नेपाली टिमको प्रशिक्षण सुरू हुनेछ । प्रशिक्षणमा २६ देखि २८ खेलाडी बोलाइनेछ ।

आगामी फेब्रुअरीमा एएफसी एसियन कप २०२३ को तेस्रो चरणको ड्र हुनेछ । यो ड्र अघि नेपालको वरीयता सुधार गर्न काम गर्नु पर्ने उनको भनाइ छ । त्यसका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाउने उनको योजना छ । अहिलेको अवस्थामा नेपाल पोट–४ मा छ । ड्र अघि फिफा वरीयता सुधार गरेर पोट ३ मा आउने उनको योजना छ । यसो भए नेपालका लागि छनोट यात्रा सहज हुने उनको भनाइ छ ।

प्रत्येक चरणमा तीन साता प्रशिक्षण गराउने गरी योजना बनाएका छन् भने फिफा डेमा बढी भन्दा बढी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाउन प्रयास गरिने अलमुताइरीको भनाइ छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले एसियन कपको तेस्रो चरणको छनोट आगामी जुनमा गर्ने भनेको छ । यही समयमा एएफसी यू२३ एसियन कप हुने भएकाले तेस्रो चरणको छनोट सर्ने सम्भावना छ । यसो भएमा छनोट सेप्टेम्बरमा हुनेछ ।

सेप्टेम्बरमा हुने छनोटमा एक समूहमा चार टिम हुनेछन् । नेपाल भन्दा बलिया टिमसँग प्रतिस्पर्धा गर्नु पर्ने भएकाले समूहमा तेस्रो हुने लक्ष्य रहेको अलमुताइरीले बताए । उनले नेपाल यसपटकको एसियन कपमा छनोट हुने सम्भावना नरहेको पनि स्पष्ट पारे ।

साफको फाइनल पुग्ने, एसियन कपको तेस्रो चरणमा पुग्ने र नेपाली टिमको खेल्ने शैली परिवर्तन गर्ने आफ्नो योजनामा सफल भएको बताएका अलमुताइरी आगामी लक्ष्यमा पनि सफल हुने दाबी गरे । अर्को वर्षको नोभेम्बरमा फिफा विश्वकप हुने भएकाले त्यतिबेला मैत्रीपूर्ण खेल सम्भव नहुने उनको भनाइ छ ।

सन् २०२३ मा विश्वकपको छनोट र २०२४ मा एसियन कपको छनोट हुनेछ । सन् २०२३ मा विश्वकप छनोट र २०२४ मा एसियन कप छनोटमा उत्कृष्ट खेल देखाउने आफ्नो रणनीति हुने उनको भनाइ छ । सन् २०२३ र २०२४ को विस्तृत योजना पछि सार्वजनिक गर्न उनको भनाइ छ ।

प्रतिक्रिया