नेपाललाई विद्युत् निर्यातको अनुमतिः आज राति १२ बजेदेखि ३९ मेगावाट भारत निर्यात हुँदै
अखबार टुडे
प्रकाशित:
२०७८, १६ कार्तिक

काठमाडौँ, १६ कात्तिक । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको छ ।
भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको छ ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत््गृहबाट उत्पादित ३९ मेगावाट विद्युत्् भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो ।

दुई विद्युत््गृहबाट उत्पादित विद्युत््लाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ । प्राधिकरणले आज राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत् निर्यात सुरु गर्ने छ । हाल यो लाइनबाट विद्युत् आयात मात्र भइरहेको छ ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ । प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको बेला आइआइएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँग नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताए । राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत् बिक्रीका लागि अनुमति पाएका छौँ, यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोसेढुङ्गा हो, उनले भने ।

उनले प्रस्ताव गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत्गृहबाट उत्पादित विद्युत्को भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरेको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताए । नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत् भारतीय बजारमा निर्यात सुरु भएसँगै नेपालका जलविद्युत् विकासको ठूलो ढोका खुलेको छ ।

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत् बिक्री गर्ने छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्ने छ ।

विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट बिक्री दर तय हुनेछ । प्रतिष्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात हुने छ । भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रति युनिट विद्युत्को मूल्य २८ भारतीय रुपैयाँ (भारु)सम्म पुगेको थियो ।

प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत्् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभीभीएन)ले गर्ने छ । एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ ।

प्रतिक्रिया