
बाँके, १६ कात्तिक । नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा बँदेल ठोक्किएर दुर्घटना भएको छ । रनवेमा एकैसात तीन वटा बँदेल विमानमा ठोक्किएको नेपालगन्ज विमानस्थल प्रमुख सुवास झाले जनाएका छन् ।
उनका अनुसार मंगलबार बिहान ६ः२० बजे धावनमार्गमा पूर्वबाट पश्चिमतर्फ टेकअफ गर्ने क्रममा विमानमा बँदेल ठोक्किएका थिए । बँदेल ठोक्किएपछि चालकदलले तीव्र गतिमा गुडिरहेको जहाजको टेकअफ रिजेक्ट गरेका थिए ।
अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । सीता एयरका वरिष्ठ महाप्रबन्धक धनश्याम आचार्यले घटनालगत्तै मंगलबार बिहान काठमाडौंबाट प्राविधिकको टोली जहाज मर्मतका लागि पठाएको बताए ।
नेपालगन्ज विमानस्थलभित्र ठूलो झाडी भएकाले त्यहाँ बदेलको बासस्थान छ । यसअघि पनि जहाज उड्ने बेला बँदेल देखिने र ठोकिने घटना भएका थिए । उक्त जहाजमा तीन जना चालक दलका सदस्यसहित १४ जना यात्रु थिए । यात्रु सबै कुसल भएको सीता एयरले जनाएको छ ।
जहाजलाई पार्किङ क्षेत्रमा ल्याउँदा र धावनमार्ग सफाई गर्दा दुई घन्टा नेपालगन्ज विमानस्थल बन्द गरिएको थियो ।