माओवादी प्रतिक्रियावादी दयाले होइन् जनताले साथ दिएर आएको हो: अध्यक्ष दाहाल
अखबार टुडे
प्रकाशित:
२०७८, १५ कार्तिक

काठमाडौं, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको बताएका छन् ।

कीर्तिपुर नगर समितिले विभिन्न चाडपर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन् । हामीले राम्रो काम गरेर पनि जनतालाई बुझाउन नसकेको हो ।’ उनले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभइ जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताए ।

उनले भने, ‘कम्युनिष्टले परसम्म जाने सपना देख्छन् त्यसकारण सपना देख्नु जायज हो ।’ अध्यक्ष दाहालले राम्रो सपना देखेर पूरा गर्नका लागि सङ्घर्ष गर्नु कम्युनिष्टको चरित्र र विशेषता भएको बताए । उनले भने ‘हामीले धेरै सपना देख्यौं । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पूरा भएका हुन् ।’ आफूहरुले संविधानमा मतभेद राखेरै भए पनि जारी गरेको स्मरण गर्दै अनुकूल समयमा संविधान संशोधन गरेर जाने बताए ।

उहाँले भन्नुभयो, ‘हामीले त कम्युनिष्टहरु जति सबैलाई एकताबद्ध गर्ने एउटा शक्तिशाली पार्टी बनाउने, त्यो पार्टीलाई सही दिशा र विचारमा लिएर जाने तथा सामाजिक न्यायसहित आर्थिक विकास र समृद्धिको नयाँ समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिको जग बसाउने सपना देखेको हो ।’ उनले यस्तो सपना देख्नु नराम्रो नभएको बताए । त्यो सपना जायज भएको कार्यकर्ता र जनतामा आएको ऊर्जाले प्रमाणित गरेको अध्यक्ष दाहालको भनाइ थियो ।

प्रतिक्रिया