बार्सिलोना माया गरेको क्लब हो, म फर्किन चाहान्छु: मेस्सी
अखबार टुडे
प्रकाशित:
२०७८, १५ कार्तिक

काठमाडौं, १५ कार्तिक । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लिओनल मेस्सीले बार्सिलोनामै फर्किने इच्छा व्यक्त गरेका छन् ।

बार्सिलोना छाडेर पीएसजी गएका मेस्सीले प्राविधिक सचिवको रुपमा पुनः फर्किने इच्छा व्यक्त गरेका हुन् । उनले एक अन्तरवार्तामा बार्सिलोनालाई मायाँ गर्ने र उनीहरुलाई राम्रो बनाएर विश्वकै उत्कृष्ट टिम बनाउन चाहेको बताए ।

स्पोर्टसँगको अन्तरवार्तामा मेस्सीलाई ‘कुनै दिन बार्सिलोना फर्कने योजना छ कि छैन ? भनेर सोधिएको प्रश्नमा उनले भने, जवाफमा मेस्सीले भने, ‘छ, मैले जहिले पनि भनेको छु कि म क्लबलाई सहयोग गर्न खुसी हुनेछु । म कुनै दिन प्राविधिक सेक्रेटरी बन्न चाहन्छु । यदि सम्भव छ भने म पुनः क्लबलाई योगदान दिन चाहन्छु । किनभने त्यो मैले माया गरेको क्लब हो र त्यो माया सधैँ बढी नै रहन्छ ।’

अर्जेन्टिनी स्टारले क्याटालान टोलीसँग २१ वर्ष बिताउँदै आफूलाई विश्वकै उत्कृष्ट खेलाडीका रुपमा स्थापित गर्न सफल भएका थिए । तर, क्लबले नयाँ करार दिन असमर्थ भएपछि यो सिजन ३४ वर्षीय खेलाडी बार्सा छाड्न बाध्य भएका थिए ।

प्रतिक्रिया