प्रधानन्यायाधीशको राजीनामा माग : बरिष्ठ अधिवक्ता थापाले भने, ‘तपाई को हो राजीनामा नदिने ?’
अखबार टुडे
प्रकाशित:
२०७८, १४ कार्तिक

काठमाडौं । नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा अपरिहार्य रहेको बताएका छन् ।

प्रधानन्यायधीशको राजीनामा माग गर्दै आइतबार बार एसोसिएशनको अगुवाइमा भएको प्रदर्शनपछि बरिष्ठ अधिवक्ता थापाले भने, ‘हामी अलि खुलेका छैनौँ, प्रधानन्यायाधीशलाई बडो सम्मानपूर्वक भनेका छौँ, अहिलेसम्मको भ्रष्टाचार, बेथिति, असक्षमताको जिम्मा तपाईले लिनुपर्छ ।’

बरिष्ठ अधिवक्ता थापाले न्यायालय भनेको पशुपतिनाथ जस्तै पवित्र संस्था भएको बताउँदै प्रधानन्यायाधीश त्योभित्रको मुल भट्ट भएको बताए । ‘मुल भट्टले पूजा गर्नुपर्ने जुन विधि, प्रक्रिया हो, त्योअनुसार पूजा अर्चना गरिन्छ’ उनले भने, ‘तर, प्रधानन्यायाधीशले न्यायालयको पूजा गर्नुभएको छैन । त्यसकारण पदबाट राजीनामा दिनुपर्छ भनेका छौँ ।’

प्रधानन्यायाधीश जबरा न्यायालयमा विद्यमान दुषित प्रक्रियालाई बन्द गर्न नसकेको र सधैँभरि त्यसलाई टार्ने हिसाबबाट अघि बढेको वरिष्ठ अधिवक्ता थापाको आरोप छ । ‘इजलासमा म बस्दिनँ भनेर प्रधानन्यायाधीशले घोषणा गरेको मुद्दासम्म सुनुवाइमा राख्न सक्दैनन् भने यी प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीशको हैसियतमा हामीले मानिरहनुपर्ने छैन’ उनले भने ।’

सेवाग्राही जत्तिकै कानुन व्यवसायी पनि मर्कामा रहेको भन्दै थापाले प्रश्न गरे, ‘अदालतका दुईवटा पाङ्ग्रामध्ये हामी एउटा पाङ्ग्रा हौँ । न्यायालयको संरक्षण गर्नु प¥यो भनेदेखि बारले गर्दछ, बारले नै जब तपाईसँग राजीनामा मागिसकेको छ भने तपाई को हो राजीनामा नदिने ?’
यस्तै, नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका शुद्धीकरणका लागि संविधान संशोधनसम्मको माग अघि सार्ने बताए ।

नेपाल बारले शुरु गरेको धर्नापछि उनले भने, ‘न्यायालयलाई विकृति विसंगतिमुक्त बनाउन संविधान संशोधनसम्मको माग अघि सार्न सक्छौँ ।’
हाल संविधानमा रहेको न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्थाले न्यायालयमा विकृति देखिएको बताउँदै उनले भने, ‘न्यायालयलाई विकृति विसंगतिमुक्त बनाउन बाध्य भएर प्रधानन्यायाधीशजस्तो संस्थाको विरोधमा उत्रिनुपरेको हो ।’ कोही व्यक्तिविरुद्ध नभई प्रवृत्तिका विरुद्ध आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया