
काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन् ।
ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिने सिलसिलामा लण्डनमा रहेका उनले नेपालप्रतिको बेलायती सांसदहरूले देखाएको सद्भाव र शुभेच्छाबाट प्रोत्साहित भएको बताए ।
नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले कठिन समयमा पनि नेपाललाई साथ दिएकामा बेलायती सांसदहरूप्रति आभार व्यक्त गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
आजै प्रधानमन्त्रीले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिहरूलाई भेट्ने छन् भने लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गर्नेे स्वागत समारोहमा देउवा सहभागी हुने कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ । आजै प्रधानमन्त्री एडनबरा हुँदै अपराह्न स्कटल्याण्डको ग्लास्गो पुग्नेछन् ।