‘अर्ली इलेक्सन’मा जान जरुरी छैन : अध्यक्ष नेपाल
अखबार टुडे
प्रकाशित:
२०७८, १२ कार्तिक

काठमाडौं, १२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन)मा जानु जरुरी नभएको बताएको छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा उनले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र सङ्घीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले भने, ‘किन अर्लीमा जानु ? अर्लीमा जानु जरुरी छैन । मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला, कानूनी जटिलता छ की छैन थाहा छैन, पाँच दलमा छलफल भएको पनि छैन तर मलाई लागेको चाँही सबै चुनाव एकैपटक गराउनुपर्छ भन्ने हो ।’ निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागिसमेत निर्वाचन छुट्टाछुट्टै गर्न नहुनेमा उनले जोड दिए ।

माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको भन्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गरे । ‘वामपन्थी पार्टी मिलुन्, सबै कम्युनिष्ट एक ठाउँमा आउन् भन्ने चाहना केही व्यक्तिको होला । त्यो राम्रो कुरा पनि हो तर माओवादीसँग तत्काल एकता सम्भव नभएको उनले बताए । यस्तै, एमालेमा फर्किने कुरामा कल्पना समेत नगरिएको बताउँदै अध्यक्ष नेपालले अहिले एमालेमा बसेकाको बेहाल भएको र भविष्यसमेत नरहेको जिकिर गरे ।

प्रतिक्रिया