राप्रपाको महाधिवेशन दुई साता पर सर्यो
अखबार टुडे
प्रकाशित:
२०७८, ११ कार्तिक

काठमाडौं, ११ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्धारित महाधिवेशन मिति सार्ने निर्णय गरेको छ । यसअघि कात्तिक २७ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने भनिएको थियो । तर, तल्लो तहको अधिवेशन नै सम्पन्न हुन नसकेकाले दुई साता पर सार्ने निर्णय गरेको हो ।

बिहीबार पार्टीका अध्यक्षत्रयको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन मंसिर ११, १२ र १३ गते काठमाडौमा गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।

उनका अनुसार बैठकले सक्रिय सदस्य बनाउने अवधि कात्तिक १५ गतेसम्म बढाउने निर्णय गरेको छ भने केन्द्रीय निर्वाचन समितिले कात्तिक २६ गेतभित्र सक्रिय सदस्यहरुको नामावली जिल्लाहरुमा पठाउने निर्णय भएको छ ।

यस्तै, सक्रिय सदस्यको दावी विरोध कात्तिक २७, २८ र २९ गते गर्ने तथा अन्तिम नामावली ३० गते प्रकाशन गर्ने पनि पार्टीले निर्णय गरेको छ । जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र तथा सातवटै प्रदेशसभाबाट प्रदेश कार्य समितिको निर्वाचन कात्तिक २८ गते गर्ने बैठकले निर्णय गरेको छ । पार्टीले महाधिवेशनको तयारीको विभिन्न ९ समिति गठन गरेको छ ।

प्रतिक्रिया