महाअभियोगको विषय प्रवेश भएकै छैन : अध्यक्ष नेपाल
अखबार टुडे
प्रकाशित:
२०७८, ११ कार्तिक

धनगढी, ११ कात्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद पुर्नस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज भएको बताएका छन् । केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘परमादेश जारी गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ’ भन्ने दिएको अभिव्यक्ति प्रणालीलाई नै भत्काउने प्रवृत्तिको उपज भएको बताए ।

बिहीबार धनगण्ीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोदै अध्यक्ष नेपालले न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने बताए । अध्यक्ष नेपालले ओलीले न्यायपालिकालाई अनावश्यक रुपमा लान्छना लगाउने काम गरेको बताए । आफ्नै कार्यशैलीले विवादमा आएका प्रधान्यायाधीश जबरालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म गठबन्धनमा छलफल नभएको बताउँदै उनले भने, ‘महाअभियोगको विषय प्रवेश भएकै छैन ।’

उनले आफू उपत्यका बाहिर भएकाले पाँच दलको बैठकसमेत केही दिनयता नबसेको बताए । पछिल्लो समय न्यायालयभित्रै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने माग उठिरहेका बेला एमालेका अध्यक्ष ओलीले संसद पुर्नस्थापनाको आदेश दिने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताएका थिए । एमाले अध्यक्ष ओलीको अभिव्यक्तिप्रति नेपालले भने, ‘उहाँले आफ्नो रिस साँध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्दै जुन ढंगले भूमिका खेल्नुभएको छ, त्यो अत्यन्तै अनुचित र सिस्टमलाई भत्काउने प्रवृत्तिकै उपज हो ।’

प्रतिक्रिया