अष्टलक्ष्मीको राजीनामा : एमालेले तीन मुख्यमन्त्री गुमायो, प्रदेश १ पनि गुमाउने अधिक सम्भावना
अखबार टुडे
प्रकाशित:
२०७८, १० कार्तिक

काठमाडौं, १० कात्तिक । नेकपा एमालेको अन्तरिक विवाद र विभाजनको असर लगातार देखिन थालेको छ । एमालेको अन्तरिक कलहकै कारण केपी ओली नेतृत्वको सरकार ढलेको थियो । कलहकै कारण एमाले विभाजन भयो । र, त्यसको असर प्रदेशहरुमा पनि हो । पछिल्लो उदाहरण हुन्, बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ।

बुधबार मुख्यमन्त्री शाक्यले राजीनामा गरेकी छन् । एमाले विभाजनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएकी हुन् ।

यससँगै प्रदेशसभाको पहिलो निर्वाचनपछि सबैभन्दा धेरै मत ल्याएर सातमध्ये चार प्रदेशमा सरकारको नेतृत्व गरेको एमालेले एउटाबाहेक सबै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । अब एमाले नेतृत्वको सरकार प्रदेश नं १ मा मात्रै बाँकी छ । यसअघि एमालेले गण्डकी र लुम्बिनी प्रदेशको सरकार गुमाएको थियो । प्रदेशसभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि मतपरीक्षणअघि नै बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् ।

गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री थिइन् । उनीअघि एमालेकै डोरमणि पौडेल बागमतीको मुख्यमन्त्री थिए ।

प्रदेशसभालाई सम्बोधनका क्रममा शाक्यले आफ्नो राजनीतिक संघर्षयुक्त विगत स्मरण गरेकी थिइन् । राजीनामा पनि उनले प्रदेश बनाउन सरकार र प्रतिपक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिइन् ।

प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले पनि आगामी सोमबार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दैछन् । एमालेबाहेक अरू विपक्षी दलको गठबन्धन प्रदेशसभामा बलियो देखिएका कारण आचार्यले पनि मुख्यमन्त्री गुमाउने सम्भावना अधिक छ । शाक्यको राजीनामासँगै एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादीले पहिलो मुख्यमन्त्री पाउने भएको छ ।

पार्टी विभाजनअघि नेता नेपालको समूहमा रहेकी शाक्यले अन्तिम समयमा गुट बदलेर केपी शर्मा ओली समूहमा गएपछि पार्टीले उनलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया