५ देखि ११ वर्षका बालबालिकालाइ फाइजर खोप दिन अमेरिकी विज्ञको सिफारिस
अखबार टुडे
प्रकाशित:
२०७८, १० कार्तिक

काठमाडौं, १० कार्तिक । अमेरिकी सरकारको एउटा प्यानलले फाइजर÷बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने भन्दै त्यसका लागि सिफारिस गरेको छ ।

त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए)का विज्ञहरूले मङ्गलवार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो ।

अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले थप अनुमति दिनुपर्छ । ती निकायले नोभेम्बर २ तारिखमा त्यस्तो अनुमति दिने ठानिएको छ । एफडिएका विज्ञहरूको टोलीले खोप लगाउनुको फाइदा त्यसले निम्त्याउनसक्ने अन्य स्वास्थ्य खतराभन्दा बढी हुने भन्दै त्यसप्रति आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

हालैको यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन् । ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई वयस्कलाई दिइएको खोपको एक तिहाइ मात्रा दिइनेछ ।

सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको देखाएको जनाएको थियो । अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन निर्णय गरिसकेको छ ।

प्रतिक्रिया