परमादेश ल्याउने सबैलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा हो: प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७८, १० कार्तिक

काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले गजेन्द्रबहादुर हमाल आफ्नो पार्टीको मान्छे भएको स्पष्ट पारेका छन् ।

प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाइएको भनिएका हमाल आफ्नो पार्टीको मान्छे भएको देउवाले स्पष्ट पारेका हुन् । नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित सरकारी निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भने, ‘मैले तपाइँहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए ।’

प्रधानमन्त्री देउवाले पछिल्लो समय अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको समेत बताउँदै यसबारे गठबन्धनमा छलफल गर्ने बताए । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश गर्ने सबै न्यायाधीशलाई राजीनामा गर्नुपर्ने भनी दिएको अभिव्यक्तिको आलोचना गरे । उनले भने, ‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैनजस्तो लाग्छ मलाई । अरु कुरा धेरै केही भन्नुछैन । हाम्रो गठबन्धन पाँच पार्टीको जो छ, जे उठेका सवालहरू छन्, त्यस सम्बन्धमा सरसल्लाह र छलफल गर्नेछौँ ।’

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दाबी गर्दै त्यसको विरोध नगर्न एमाले अध्यक्ष ओलीलाई सचेत गराए ।

प्रतिक्रिया