एमालेमा गुटबन्दी सकिएको हो ?, पालिका अधिवेशनमा पनि सर्वसम्मत नेतृत्व चयन हुँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ९ कार्तिक


काठमाडौं, ९ कात्तिक । नेकपा एमालेको हालै सम्पन्न वडा अधिवेशनमा अधिकांश नेतृत्व सर्वसम्मतले प्रतिनिधि चयन भएको थियो । १०औँ महाधिवेशनअन्तर्गत भएको वडा अधिवशेन सर्वसम्मतले सम्पन्न गरेको एमालेले पालिका अधिवेशनमा पनि सर्वसम्मतले नेतृत्व चयन सुरु भएको छ ।

मंगलबार सुरु भएको एमालेको पालिका अधिवेशनमा हालसम्म एक सय ५० भन्दा बढी पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । मंगलबार भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशनको उद्घाटन गरेका थिए ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले देशभर रहेका ७५३ मध्ये ६०० भन्दा बढी पालिकामा अधिवेशन भएको बताए । जसमध्ये एक सय ५० भन्दा बढीमा सर्वसम्मत नेतृत्व चयन भइसकेको उनले बताए ।

‘अहिलेसम्म डेढ सय भन्दा बढी पालिकामा सर्वसम्मत नेतृत्व चयन भईसकेको खबर हामीलाई प्राप्त भएको छ । ६०० सय भन्दा बढी पालिकाहरुमा अधिवेशन सुरु भएको छ । सबैतिर सर्वसम्मतमै नेतृत्व चयन गर्ने प्रयास जारी छ’ तामाङले भने ।

विभिन्न कारणले पालिका र वडा अधिवेशन हुन नसकेको ठाउमा कार्तिक समान्त सम्ममा सक्नुपर्ने निर्देशन पार्टीको रहेको उनले बताए । बाढी, पहिलो तथा डुबान लगायतका समस्याका कारण केही पालिकामा अधिवेशन हुन नसकेको उनले बताए ।

एमाले विधान अनुसार पाँच सदस्यीय पदाधिकारी निर्वाचित हुनेछ । अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र सहसचिव २ अधिवेशनबाट निर्वाचित हुनेछन् । पदाधिकारी सहित गाउँपालिका र नगरपालिकामा ७५ सदस्यीय, उपमहानगरमा ८५ सदस्यीय र महानगरमा १०१ सदस्यीय कमिटी गठन हुनेछ ।

एमालेले १०औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरिसकेको छ । एमालेको महाधिवेशन १० देखि १३ मंसिरसम्म हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भइसकेको छ ।

प्रतिक्रिया