काठमाडौं, ९ कार्तिक (एजेन्सी) । अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि वैदेशिक सहयोग रोकिँदा अफगानिस्तानमा चरम आर्थिक संकट चुलिएको छ भने यतिबेला विश्वमै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको छ ।
बीबीसीकी योगिता लिमायले तयार पारेको एक भिडियो रिपोर्टमा पश्चिमी अफगानिस्तानको हेरात र वरपरका ग्रामीण क्षेत्रको अवस्था चित्रण गरिएको छ । हेरात वरपरका क्षेत्रमा अवस्था कल्पनै गर्न नसकिने खालको छ । त्यहाँका बासिन्दाहरु छाक टार्नका लागि कल्पनै गर्न नसकिने कार्य गर्न बाध्य छन् । भिडियोमा भोकमरीबाट परिवारलाई बचाउनका लागि एक शिशु बेचिएको उल्लेख छ ।
छाक टार्नकै लागि आफ्नी छोरी बेच्न बाध्य भएकी आमा भन्छिन– ‘मेरा अन्य छोराछोरी भोकै मर्ने अवस्था आएपछि छोरी बेच्न बाध्य भयौं ।’ ती महिलाकी सानी छोरीलाई एक व्यक्तिले पाँच सय डलरमा किनेका छन् । ती व्यक्तिले उनकी छोरी हिँड्न सक्ने भएपछि घर लैजानेछन् । किन्ने व्यक्तिले उनलाई आफ्ना सन्तानसँग बिहे गरिदिने पनि भनेका छन् । तर यसबारे ढुक्क हुने अवस्था छैन ।
छोरी बेच्न बाध्य महिलाका पतिले फोहोर उठाउने काम गर्थे । तर हाल आम्दानीको यो स्रोत समेत बन्द भएको छ । ‘हामी भोकभोकै छौं’, छोरी बेच्न बाध्य बाबु भन्छन्, ‘हाम्रो घरमा न पीठो छ, न खाने तेल । हामीसँग केही पनि छैन ।’
‘मेरी छोरीलाई आफ्नो भविष्यबारे केही थाहा छैन,’ उनले थपे, ‘यो कुरा थाहा पाएपछि उनले के सोच्लिन् होला ? तर मैले यो काम गर्न बाध्य छु ।’ उक्त क्षेत्रमा आफ्ना सन्तान बेचेका अन्य बाबु–आमा समेत बस्छन् ।
रिपोर्टमा हेरातस्थित एमएसएफद्वारा सञ्चालित एक अस्पतालको दयनीय अवस्था देखाइएको छ भने कम्तिमा १० लाख बालबालिका मृत्युको जोखिममा परेका छन् । एमएसएफको अस्पतालमा उपचार गराइरहेका बालबालिकाको अवस्था निकै दर्दनाक छ । अस्पतालका डाक्टर र नर्सले चार महिनादेखि तलब पाएका छैनन् भने उनीहरुसँग न स्वास्थ्य सामग्री किन्ने पैसा छ ।