अध्यक्ष ओलीले भने, ‘व्यवस्थापिका संसदको नेतृत्व ठीक भएन’
अखबार टुडे
प्रकाशित:
२०७८, ९ कार्तिक

काठमाडौं, ९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटासँग खनिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले व्यवस्थापिका संसदको नेतृत्व ठीक नभएको बताउँदै सभामुख सापकोटा एमालेविरुद्ध नांगो ढंगले उत्रिएको आरोप लगाए ।

मंगलबार एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत देशभरका पालिका स्तरको अधिवेशनलाई उद्घाटन गर्दै ओलीले भने, ‘नेकपा एमालेको पत्र विचाराधीन राखेर निर्वाचन आयोगलाई एमालेविरुद्धका गतिविधि गर्नका लागि सजिलो बनाइदिने । व्यवस्थापिका प्रभावकारी ढंगले अघि बढ्न सकेन । त्यसको नेतृत्व नै ठीक भएन ।’

त्यसो त अध्यक्ष ओलीले सभामुख सापकोटाप्रति पहिलेदेखि नै आक्रोस पोख्दै आएका हुन् । अध्यक्ष ओलीले एमालेको पत्र विचाराधीन राखेर निर्वाचन आयोगलाई आफ्नो पार्टीविरुद्ध काम गर्न सहयोग पु¥याएको आरोप लगाउँदै आएका छन् ।

आफ्नो सरकारले ल्याएका अध्यादेश खारेज गर्ने र संसदमा विचाराधीन विधेयक पनि अगाडि नबढाइएको र चार वर्षअघि जनताले दिएको जनादेशको व्यवस्थापिकामा दुरुपयोग भएको उनको भनाइ छ ।

मंगलबार एमालेको देशभरका ७५३ वटै पालिकामा अधिवेशन सुरू भएको छ । तीन दिनअघि वार्ड अधिवेशन सम्पन्न गरेको एमालेले पालिकास्तरको नेतृत्व चयनका लागि अधिवेशन गर्न लागेको हो ।

पालिका अधिवेशनको अध्यक्ष ओलीले थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।

प्रतिक्रिया