सैन्य ‘कू’पछि सुडानमा भड्कियो हिंसा : ७ जनाको मृत्यु, विश्वका नेताहरुद्वारा निन्दा
अखबार टुडे
प्रकाशित:
२०७८, ९ कार्तिक

काठमाडौं, ९ कात्तिक । सुडानमा सैन्य ‘कू’पछि हिंसा फैलिएको समाचार आएको छ । सैन्य ‘कू’को व्यापक विरोध भएपछि सेनाले गोली चलाउँदा कम्तीमा ७ जना मारिएको र करिब १४० जना घाइते भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार सशस्त्र फौजले सोमबार राजनीतिक नेताहरूलाई पक्राउ गरेर गैरसैनिक शासन विघटन गर्दै संकटकालको घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा निस्किएका थिए । सैन्य दस्ताले राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शन आयोजकहरूलाई पक्राउ गरेको छ ।

सैन्य कूको विश्वभरि निन्दा गरिएको छ र अमेरिकाले सुडानलाई सहायतास्वरूप दिने भनेको ७० करोड डलर रोकेको बिबिसीले जनाएको छ । कूको नेतृत्व गरेका जनरल अब्देल फतह बुर्हानले सैन्य कदमका लागि दलहरूबीचको राजनीतिक झगडालाई दोष लगाएका छन् ।

सुडानमा लामो समय शासन गरेका ओमार अल–बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र गैर सैनिक नेताहरूबीच द्वन्द्व चर्कँदै आएको छ । सोमबार सेनाले शासन हातमा लिएपछि राजधानी खार्तुमका सडक र अन्य सहरहरूमा प्रदर्शनकारी ठूलो संख्या भेला भएर गैरसैनिक शासनको माग गरेको बीबीसी अरेबिकका मोहम्मद ओस्मानले बताएका छन् ।

एक जना घाइतेले बीबीसी संवाददातालाई सैन्य मुख्यालयबाहिर सेनाले आफ्नो खुट्टामा गोली हानेको बताइएको छ । सुडानस्थित डाक्टरहरूको संघ र सूचना मन्त्रालयले पनि सैनिक भवनको हाताबाहिर गोली चलाइएको भनेर फेसबुकमा लेखेका छन् । घाइतेहरू रगतपच्छे लुगामा अस्पतालमा रहेको तस्बिरहरू सार्वजनिक भएका छन् । बीबीसी संवाददाताका अनुसार हिंसा भएपनि प्रदर्शनकारीहरू पछि हट्ने संकेत देखिएको छैन ।

प्रदर्शनकारीहरूले इँटाको चाङले बाटोमा अवरोध पु¥याएका छन् र टायर बालेका छन् । थुप्रै महिलाहरू पनि ‘सैन्य शासन चाहिँदैन’ भन्दै नारा लगाइरहेका छन् । विमानस्थल बन्द छ भने अन्तर्राष्ट्रिय उडानमाथि रोक लगाइएको बताइएको छ। इन्टरनेट र धेरै फोन सेवाहरू पनि बन्द गरिएका छन् । केन्द्रीय बैङ्कका कर्मचारीहरू देशैभर आन्दोलनरत रहेको बताइएको छ ।

राजधानी खार्तुमस्थित सेनाको मुख्यालय परिसर बाहिर महिला, बालबालिकासहित हजारौँ मानिसहरूले प्रदर्शन गरेका छन् । सेनाले शासन हातमा लिएपछि विश्व नेताहरूले त्यसको निन्दा गर्दै प्रतिक्रिया जनाएका छन् । सुडानसमेत सदस्य रहेको अफ्रिकी संघलगायत युरोपेली संघ, यूके र अमेरिकाले समेत गैरसैनिक नेताहरूलाई रिहा गर्न माग गरेका छन् ।

सेनाले थुप्रै नेतालाई पक्राउ गरेर अज्ञात स्थलमा राखेको बताइएको छ । पक्राउ गरिनेमा प्रधानमन्त्री अब्दल्ला ह्यामदुक र उनकी श्रीमती, साथै मन्त्रिमण्डलका अन्य सदस्य र गैर सैनिक नेताहरू रहेका छन् ।

प्रतिक्रिया