एमालेको आज देशभरको पालिका अधिवेशन
अखबार टुडे
प्रकाशित:
२०७८, ९ कार्तिक

काठमाडौं, ९ कात्तिक । नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभरका ७५३ पालिकामा धिवेशन गर्दैछ । विशेष क्षेत्र अन्तर्गतका इलाकाको पनि आजै एकैसाथ अधिवेशन हुनेछ ।

अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ ।

यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन तय गरिएकामा अधिकांश वडामा सम्पन्न भएको छ भने बाढी पहिरो प्रभावित स्थानमा स्थगन भएको छ । वडा अधिवेशनमा अधिकांश सर्वसम्मतले चयन गरिएको छ ।

पार्टीको नयाँ विधानबमोजिम गाउँ÷नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

एमालेको १०औँं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर१० देखि १२ गतेसम्म वाग्मती प्रदेशको चितवनमा हुँदैछ ।

प्रतिक्रिया