प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने सर्वोच्च बारको निष्कर्ष
अखबार टुडे
प्रकाशित:
२०७८, ८ कार्तिक

काठमाडौं, ८ कात्तिक । सर्वोच्च अदालत बार एसोसिएसन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगेको छ । सोमबार बसेको बारको पदाधिकारी बैठकले यस्तोे निष्कर्ष निकालेको हो । बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि पनि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष जनाएको हो ।

बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालिएको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताए । बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएमात्रै न्यायालयको गतिरोध अन्त्य हुने सुझाव दिएको उनको भनाइ छ । तर यस सम्बन्धमा बारले सल्लाहकार समितिको बैठक राखेरमात्रै औपचारिक धारणा सार्वजनिक गर्ने बताएको छ ।

‘बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यो गम्भीर परिस्थितिमा यस बार एशोसिएसनका पूर्व अध्यक्ष तथा पूर्वसचिवसमेत रहेको सल्लाहकार समितिद्वारा २०७८ साल कात्तिक ८ मा प्राप्त सल्लाह र सुझावसमेतका आधारमा आजै बसेको कार्यसमितिको बैठकले न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको ठहर गरेको हुँदा न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्गप्रशस्त गर्न सम्मानननीय प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष सर्वोच्च अदालत बार एशोसिएसन जोडदार माग गर्दछ ।’

बारले मंगलबार सल्लाहकार समितिको बैठक आव्हान गरेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्षहरू, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारीको सहभागिता हुनेछ ।

यसअघि आइतबारमात्रै नेपाल बारले प्रधानन्यायाधीशलाई भेटी सोमबारका लागि फूलकोर्टको बैठक राख्न माग गरेको थियो । सोही बमोजिम प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले सोमबार अपरान्ह १ः३० बजेका लागि फूलकोर्टको बैठक डाकेका थिए । तर, प्रधानन्यायाधीशले डाकेको फूलकोर्ट बैठक न्यायाधीशहरूले बहिष्कार गरेको छ ।

प्रधानन्यायाधीश जबरामाथि नैतिक प्रश्न उठेपछि न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । न्यायाधीशहरुले इजलास बहिस्कार गरेपछि सोमबार पेसी तोकिए पनि इजलास बस्न सकेन । सोमबार दशवटा इजलास तोकिएको थियो ।

प्रतिक्रिया