बार प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच छलफल : ‘राजीनामा गर्नुपर्ने अवस्था आउन सक्छ’
अखबार टुडे
प्रकाशित:
२०७८, ७ कार्तिक
  • गोलाबाट पेशी तोक्न प्रधानन्यायाधीश सहमत, डाकियो फूलकोर्ट बैठक

काठमाडौं, ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतको दैनिक पेशी गोलाप्रथाका आधारमा तोक्न सहमत भएका छन् । आइतबार सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच भएको छलफलमा जबराले मंगलबार अदालतको फूलकोर्ट बैठक बोलाउने सहमति जनाएका हुन् ।

नेपाल बार र सर्वोच्च अदालतबीच विवाद बढ्दै गएपछि बारका प्रतिनिधिले प्रधानन्यायाधीश जबरासँग भेट गरेका हुन् । भेटमा जबराले न्यायालयको सुधारका लागि आफू प्रतिवद्ध रहेको बताए । बारले २०७७ श्रावण २५ मै न्यायालय सुधारका लागि अनुरोध गरेको थियो ।
त्यस्तै, दैनिक पेसीमा चलखेल हुने गरेको भन्दै यसलाई स्वचालित बनाउने र गोला प्रथामा लैजाने सन्दर्भमा पटक–पटक बारले अदालतको ध्यानाकर्षण गराउँदै आएको थियो । बारले यसबारे २०७८ आश्विन १८ गते विज्ञप्ति निकालेर सजग गराएको थियो ।

‘प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने अवस्था आउन सक्छ’

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आइतबार भएको भेटमा आफूहरुले राजीनामा नमागेको बताएका छन् । तर, न्यायालयमा देखिएका समस्या समाधान हुन्छ भने प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने हुनसक्ने उनको भनाइ छ ।

प्रधानन्यायाधीश जबरा र बार पदाधिकारीरुबीच आइतबार छलफल भएको थियो । सो छलफलपछि आयोजित पत्रकार सम्मेलनमा बार एशोसिएसनका अध्यक्ष श्रेष्ठले बारको एजेण्डा न्यायपालिकामा देखिएको समस्याहरुको समाधान भएको बताए । उनले भने, ‘राजीनामा त्यसको साधन हुनसक्छ, साध्य होइन । राजीनामा दिएर समाधान हुनसक्ने स्थिति भयो भने त्यो ठाउँमा पनि जानुपर्ला ।’

अदालतमा विचौलियामार्फत भइरहेको भ्रष्टाचार रोक्न न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘साउन ६ गते बुझाएको प्रतिवेदन कात्तिक ७ गतेसम्म कार्यान्वयन हुन सकेको छैन । त्यसमा हाम्रो चासो हो ।’
विचौलियाको चलखेल रोक्न आफूखुशी इजलास गठन रोक्नुपर्ने र अटोमेसनमा जानुपर्नेमा उनले जोड दिएका छन् । अटोमेसनमा जान सफ्टवेयर नबन्दासम्मका लागि पर्सिदेखि नमुनाका रुपमा गर्ने प्रधानन्यायाधीशको आश्वासन रहेको उनले बताए ।

मन्त्रिपरिषदमा भाग खोजेको छैन : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषद्मा भाग नखोजेको बताएका छन् । उनले गजेन्द्र हमाल आफ्नो सिफारिसमा मन्त्री भएको भन्ने कुरामा सत्यता नभएको बताए ।

आइतबार भएको भेटमा नेपाल बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भागवण्डा लिएको विषय उठाएका थिए । जवाफमा प्रधानन्यायाधीश जबराले आफ्नो पहिलो श्रीमती (हमालकी बहिनी)को २०४१ सालमा मृत्यु भएको र त्यसयता सो परिवारसँग आउजाउ नभएको दावी गरे ।

बार महासचिव लीलामणि पौडेलका अनुसार प्रधानन्यायाधीश जबराले हमाल मन्त्री हुँदा आफूसँग जोड्नु दुर्भाग्य भएको बताएका छन् । ‘मैले सिफारिस गरेकै होइन । उहाँहरुको कांग्रेसको राजनीतिमा सक्रिय परिवार हो’ जबराको भनाइ उधृत गर्दै उनले भने, ‘तैपनि मसँग जोडिने भएकाले नगरिदिनुस् भन्दा भन्दै नियुक्ति गर्नुभयो र पछि ब्याक हुनुभयो । यसमा मेरो के हुन्छ र ?’

प्रतिक्रिया