कात्तिक १५ गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित
अखबार टुडे
प्रकाशित:
२०७८, ७ कार्तिक

काठमाडौं, ७ कार्तिक । प्रदेश १ मा प्रदेशसभा बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको जनाएको हो ।
जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ ।
मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने आइतबारको बैठकको कार्यसूची रहेको थियो ।
तर विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्ने संकेत पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको थियो । यस्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएकाले प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई निवेदन दिएको थियो ।
बैठक स्थगित भएसँगै प्रदेश १का मुख्यमन्त्री भीम आचार्यको सत्ता लम्बिएको छ । आचार्य भदौं १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया