टाउकोको मूल्य ५० लाख डलर तोकेको कुख्यात लागू औषध तस्कर पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, ७ कार्तिक

काठमाडौं, ७ कार्तिक । कोलम्बियाको सबैभन्दा कुख्यात लागू औषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख पक्राउ परेका छन् । ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा गिरफ्तार गरिएको हो ।

कोलम्बियाले ओटोनियल भनिने डेरो एन्टोनियो उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो । अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो ।

कोलम्बियाका राष्ट्रपति इभान ड्यूकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे बोल्दै देशमा यो शताब्दीमा लागुऔषध तस्करीविरुद्ध सबैभन्दा ठूलो सफलता भएको बताए । यो गिरफ्तारी सन् १९९० को दशकमा पाब्लो एस्कोबारको पतनसँग मात्रै तुलना गर्न सकिन्छ ।

उनी पानामाको सिमाना नजिकै उत्तर–पश्चिमी कोलम्बियाको ग्रामीण स्थानमा पक्राउ परेका हुन् । गिरफ्तारीको बारेमा विस्तृत विवरण आउन बाँकी रहे पनि घटनामा एक प्रहरी मारिएको राष्ट्रपतिले बताएका छन् । हालैका वर्षहरूमा ५० वर्षीय ओटोनियललाई पक्राउ गर्नका लागि हजारौँ प्रहरी संलग्न अभियानहरू भए पनि ती सफल भएका थिएनन् ।

दश वर्षअघि उनको दाइ नयाँ वर्षको उत्सव मनाइरहेका बेला प्रहरीबाट मारिएपछि ओटोनियल गल्फ क्लान नामक समूहको प्रमुख बनेका थिए । कोलम्बियाका सुरक्षा निकायले सो गिरोहलाई देशको सबैभन्दा शक्तिशाली आपराधिक सङ्गठन बताएको थियो भने अमेरिकी निकायले यसलाई सशस्त्र र अत्यन्त हिंसात्मक समूहको रूपमा हेरेका थिए ।

कोलम्बियाको धेरै प्रान्तहरूमा सङ्गठन र व्यापक अन्तर्राष्ट्रिय सम्बन्ध रहेको सो गिरोह लागू औषध र मानिसहरूको तस्करी, अवैध सुन उत्खनन र पैसा असुलीमा संलग्न छ । गल्फ क्लानमा लगभग १,८०० सशस्त्र सदस्यहरू रहेको मानिन्छ । यसका सदस्यहरू आर्जेन्टिना, ब्रजिल, होन्डुरस, पेरु र स्पेनजस्ता टाढा रहेका देशहरूमा गिरफ्तार भएका छन् ।

सो गिरोहले कोलम्बियाबाट अमेरिका र रुससम्म लागुऔषध तस्करीको लागि प्रयोग गरिने मार्गहरू नियन्त्रण गर्ने बताइन्छ । कोलम्बियाको सरकारले भने हालैका दिनहरूमा यसको सदस्यहरू कम गरेको र धेरैलाई जङ्गलमा लुक्न बाध्य बनाइएको दाबी गर्छ ।

ओटोनियललाई अमेरिका कोकिन पठाएको, प्रहरी अधिकृतहरूको हत्या गरेको र बालबालिकालाई आपराधिक क्रियाकलापमा संलग्न गराएको जस्ता आरोप लगाइने बताइएको छ । सन् २००९ मा अमेरिकामा उनीलाई आपराधिक क्रियाकलापका लागि मुद्दा दर्ता गरिएकाले उनलाई सुपुर्दगी गर्ने प्रक्रिया चलेर अन्ततः न्यूयोर्कको अदालतमा उपस्थित गराइन सकिने बताइन्छ । –बीबीसीबाट

प्रतिक्रिया