अमेरिकाले ताइवानको प्रतिरक्षा गर्ने विषयमा चीनको यस्तो जवाफ
अखबार टुडे
प्रकाशित:
२०७८, ६ कार्तिक

काठमाडौं, ६ कार्तिक । हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थियो । जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवानका सम्बन्धमा बोल्दा शब्द चयनमा सर्तकता अपनाउन अमेरिकालाई सुझाव दिएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यदि ताइवानका विभाजनकारीलाई गलत संकेत दिएमा अमेरिका र चीनको सम्बन्धमा क्षति पुग्ने र ताइवानमा शान्ति तथा स्थिरता भंग हुनसक्ने उनले बताए । ताइवान चीनको अविवादित अंग हो । ताइवानको मुद्दा पुरै रुपमा चीनको आन्तरिक मामिला भएकोले यसमा कुनै पनि विदेशी दखलका लागि अनुमति नभएको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित प्रेस ब्रिफिङमा बताए ।

बाइडेनले के भनेका थिए ?
अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए । अमेरिकी राष्ट्रपतिलाई के तपाईहरु ताइवानको रक्षा गर्नुहुन्छ भनेर सोधिएको थियो । जवाफमा बाइडेनले भने, ‘हो, हामी यसका लागि प्रतिवद्ध छौं ।’
भर्खरै चीनले परीक्षण गरेको हाइपसोनिक मिसाइलको प्रसङ्ग जोड्दै अमेरिकी न्युज च्यानल सीएनएनको टाउनहल कार्यक्रममा एक सहभागीले बाइडेनलाई चिनियाँ सेनाको सामना कसरी गर्नुहुन्छ भनेर पनि सोधेका थिए ।
जवाफमा बाइडेनले भने, ‘हो, उनीहरु मजबुत हुँदैछन् । तर यसैलाई लिएर निराश हुनुपर्ने अवस्था छैन । किनकी, चीन, रुस र बाँकी दुनियाँलाई विश्व इतिहासकै सबैभन्दा शक्तिशाली सेना हामीसँग छ भन्ने थाहा छ ।’

ताइवानले के भन्यो ?
ताइवानको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै कसैको दबाबमा नझुक्ने र कसैको समर्थन मिल्दैमा हतारोमा कुनै कदम नचाल्ने प्रतिक्रिया दिएको छ । ताइवानका राष्ट्रपतिका प्रवक्ता जेवियर चेंगले भने, ‘ताइवानले बलियो रुपमा आत्मरक्षा गर्नेछ ।’ बाइडेन प्रशासनले लगातार ताइवानलाई ठोस समर्थन दिइरहेको चेंगले बताए ।

सधैंको जटिल सम्बन्ध
चीन र ताइवानबीच दशकौंदेखि तनाव छ । १९४० को दशकमा भएको गृहयुद्धका बेला चीनबाट ताइवान अलग भएको थियो । ताइवानले आफूलाई स्वतन्त्र देश मान्ने गरे पनि चीनले यसलाई आफ्नो स्वायत्त प्रान्तका रुपमा हेर्छ ।
ताइवानको आफ्नै संविधान, लोकतान्त्रिक रुपले चुनिएका नेता र झन्डै तीन लाख सक्रिय सैनिक छन् । ताइवानलाई केही देशले मात्रै मान्यता दिएका छन् । अमेरिकाले पनि ताइवानसँग आधिकारिक रुपमा कुटनीतिक सम्बन्ध राख्दैन ।
तर, ताइवान रिलेसक्स एक्टअन्तर्गत उसले हतियार बेच्छ । अमेरिकाले ताइवानको आत्मरक्षाका लागि आवश्यक सहयोग दिने विषय यस एक्टमा उल्लेख छ । पछिल्लो समय चीन र ताइवानबीच एकपटक फेरि गहिरो तनाव देखिएको छ ।

प्रतिक्रिया