पाँच दलमाथि ओलीको आरोप, ‘यो प्रतिगामीहरूको गठबन्धन हो’
अखबार टुडे
प्रकाशित:
२०७८, ६ कार्तिक

काठमाडौं, ६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलको गठबन्धनलाई ‘प्रतिगामी गठबन्धन’को आरोप लगाएका छन् । शनिबार वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पाँच दलको गठबन्धनलाई दलीय गठबन्धन भन्न नसुहाउने बताए ।

ओलीले भने, ‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्ने प्रतिगमनको बाटो हो ।’

प्रतिगामी गतिविधिविरुद्ध सशक्त संघर्ष गर्ने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई डटेर सामना गर्न निर्देशन समेत दिए । ओलीले आगामी निर्वाचनमा एक्लै सबै तहमा शानदार बहुमत ल्याउनेगरी पार्टीले तयारी गरिरहेको बताउँदै सरकारबाट हटेपछि एमाले कमजोर भयो भनेर चलाइएको ‘स्यालहुँइया’ आफैं कमजोर बनेको बताए ।

अध्यक्ष ओलीले जनताले पत्याएको सबैभन्दा सदृढ शक्ति एमाले नै भएको दावी गर्दै संघीय संसद तथा सबै प्रदेशमा एमाले पहिलो शक्ति भएको बताए । ‘एमालेलाई सरकारबाट हटाएपछि हल्ला चल्यो, अब एमाले समाप्त भयो भनेर’ उनले भने, ‘एमाले युगको अन्त्य भयो भनेर भ्रमपूर्ण स्यालहुइयाँ चलाइएका हल्लाहरु बेकारका पानीका फोका सावित भएका छन् ।’

ओलीले एमालेलाई बदनाम र चरित्रहत्या गर्न खोजिएको आरोप लगाउँदै विभिन्न लान्छना लगाएको बताए । उनले भने, ‘एमालेको पराजित भयो, एमाले सिध्याइयो भनेर विजयोत्सव मनाइएयो । तर, अहिले पनि तुलना नै गर्न नसक्नेगरी देशको पहिलो शक्ति हौँ ।’

प्रतिक्रिया