किन माग्यो पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा ? (विज्ञप्ति हेर्नुस्)
अखबार टुडे
प्रकाशित:
२०७८, ५ कार्तिक

काठमाडौं, ५ कात्तिक । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै फोरमले प्रधानन्यायाधीश राणाको कार्यशैली, व्यवहार र आचरणमाथि प्रश्न उठाउँदै न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने बताएको हो ।

न्यायालयको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीश जबरा स्वयंले निकास दिनु वान्छनीय र अनिवार्य हुने बताउँदै फोरमले भनेको छ, ‘तर, प्रधानन्यायाधीले न्यायपालिकाको पक्षमा उदारता नदेखाएमा प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्नुपर्छ ।’

पूर्वप्रधानन्यायाधीश फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्मा समावेश गराइनु र चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ ।’

सरकारसँग भागबण्डा खोज्नु, सर्वोच्चमा तोकिने पेसी सूची निर्धारणमा गर्दा व्यापक मनोमानी हुनु, गुनासोको सुनुवाइ नहुनु लगायतमा प्रश्न उठाउँदै फोरमले प्रधानन्यायाधीश राणाप्रति प्रश्न उठाएको छ ।

‘न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुनसक्दछ । र, यो वाञ्छनीय र अनिवार्य पनि देखिएको छ’, १५ बुँदामा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया