पश्चिमा मुलुकका १० राजदूतलाई देश निकाला गर्ने टर्कीको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, ५ कार्तिक

काठमाडौं, ५ कार्तिक । टर्कीका राष्ट्रपतिले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने चेतावनी दिएका छन् ।
टर्कीका लागि अमेरिकासहित १० मुलुकका राजदूतले थुनामा रहेका नागरिक समाजका एक अगुवाको समर्थनमा संयुक्त विज्ञप्ति निकालेपछि राष्ट्रपति रेसेप तायप एर्दोगनले उनीहरुलाई देश निकाला गर्ने चेतावनी दिएका हुन् ।

एर्दोगानलाई उदृत गर्दै टर्किस मिडियाले लेखेका छन्, ‘मैले हाम्रो मुलुकमा उनीहरुलाई राख्न सक्दैनौं भनेर हाम्रा विदेशमन्त्रीलाई बताएको छु’ ।

सोमबार पश्चिमा मुलुक अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतले संयुक्त विज्ञप्ति जारी गरेका थिए । बिरलै जारी हुने संयुक्त विज्ञप्तिमा समाजसेवी एवं अभियन्ता ओस्मान काभालालाई थुनामा राख्ने कार्यले टर्कीमाथि ग्रहण लागेको उल्लेख छ ।

१० राजदूतले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘काभालाको मुद्दा न्यायसंगत ढंगले तत्काल समाधान’ गर्न भनिएको छ । संयुक्त विज्ञप्ति जारी गरेको भोलिपल्टै ती राजदूतलाई टर्कीको विदेशमन्त्रालयमा बोलाइएको थियो ।

पेरिसमा जन्मिएका काभालालाई अभियोग पुष्टि नभइकनै २०१७ देखि थुनामा राखिएको छ । उनीमाथि २०१३ को सरकारविरोधी प्रदर्शन र २०१६ को असफल ‘कु’सँग जोडेर विभिन्न आरोप लगाइएको छ । डाउनडटकमबाट

प्रतिक्रिया