सरकारले बाढीपहिरो पीडितका लागि राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा
अखबार टुडे
प्रकाशित:
२०७८, ५ कार्तिक

काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् ।

शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उनले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण सङ्कलन गरेर पीडितलाई राहत र पुनःनिर्माणमा जुट्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भने, ‘सिमित स्रोतसाधनका बाबजुत पनि पीडितलाई राहत दिन्छौँ ।’ मन्त्रिपरिषद्को निर्णयबाट केही दिनअघि राहत व्यवस्था गरिएको उल्लेख गर्दै उनले बाढीका कारण पूर्वाञ्चललगायत देशभरका विभिन्न स्थानमा क्षति पुगेको बताए ।

निरीक्षणपछि प्रधानमन्त्री देउवालाई जिल्ला सुरक्षा समितिले बाढीको क्षति र वस्तुस्थितिका बारेमा जानकारीसमेत गराएको छ । सुदूरपश्चिमको बाढीपहिराको क्षति र पीडितको अवस्था बुझ्न बिहीबार यहाँ आएका प्रधानमन्त्री देउवाले डोटी, बझाङ, बैतडी र डडेल्धुरामा निरीक्षण गरेका थिए । उनले आज कैलालीमा पनि बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया