बलिउड अभिनेत्री अनन्याको घरमा एसीबीले किन छापा मार्यो ?
अखबार टुडे
प्रकाशित:
२०७८, ४ कार्तिक

काठमाडौं, ४ कात्तिक । बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले आज बिहान (बिहीबार) छापा मारेको छ । भारतीय मिडियाका अनुसार एनसीबीले पाण्डेको मुम्बईस्थित घरमा आर्यन खानसँग जोडिएको क्रुज ड्रग्स पार्टी केसको छानबिन गर्ने क्रममा छापा मारेको हो ।

बलिउड लाइफका अनुसार एनसीबी छापाबारे विस्तृत विवरण बाहिर ल्याएको छैन । इन्टरनेटमा सार्वजनिक एउटा भिडियोमा अभिनेत्री अनन्याको घरबाट एनसीबीका पदाधिकारीहरु निस्किरहेको र उनीहरुले अनन्याका केही सामान साथमा लगेको हुनसक्ने देखिएको बलिउड लाइफले उल्लेख गरेको छ ।

एन्टी ड्रग्स एजेन्सी एनसीबीले गत असोज १७ गते मुम्बईको एउटा पानीजहाजमा छापा मारेर शाहरुख खानका छोरा आर्यनलाई पक्राउ गरेको थियो । एनसीबीले अनुसन्धानका क्रममा आर्यनसँग बलिउडकी उदीयमान अभिनेत्री पनि यो केसमा जोडिएको हुनसक्ने खबर बाहिरिएको थियो । अनन्यालाई स्पष्टिकरणका लागि एनसीबले उपस्थित हुनुपर्ने नोटिस दिएको बताइएको छ । आर्यन अनुसन्धानकै क्रममा अहिले जेलमा छन् ।

‘स्टुडेन्ट अफ द इयर २’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री अनन्या अभिनेता चंकी पाण्डेकी छोरी हुन् । उनले केही विज्ञापनमा मोडलिङ गरेर ग्ल्यामरस क्षेत्रमा करिअर अगाडि बढाएकी हुन् ।

प्रतिक्रिया