हेटौंडा, ४ कात्तिक । बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले आधा–आधा समय सरकारको नेतृत्व गर्ने भएका छन् । नेकपा एमालेबाट मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएसँगै गठबन्धन दलबीच यस्तो सहमति भएको हो ।
एमाले विभाजन भएसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । उनले बिहीबार प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि छलफल सुरु हुँदैछ । तर, शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि नयाँ सरकार गठनबारे गठबन्धनले तयारी थालेका छन् ।
यसैक्रममा काठमाडौंमा बसेको गठबन्धनका शीर्ष नेताबीच कांग्रेस र समाजवादीले आलो-पालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो । उक्त सहमतिअनुसार एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र कांग्रेसको इन्द्र बानियाँ पालो-पालोे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।
गठबन्धनका शीर्ष नेताहरुबीच काँग्रेस र नेकपा एकीकृत समाजवादीले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीले जानकारी दिए । उनका अनुसार अनुसार पहिला एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्नेछन् ।