डब्ल्यूएचओद्वारा कोभिड माहामारी सन् २०२२ सम्म लम्बिने चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, ४ कार्तिक

काठमाडौं, ४ कार्तिक । कोभिड–१९ महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएका छन् ।
डब्ल्यूएचओस्थित वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले त्यसको अर्थ कोभिड सङ्कट ‘सन् २०२२’को अन्त्यसम्मै मजाले लम्बिने देखिएको बताएका हुन् । विपन्न मुलुकहरूले आफूलाई चाहिने कोभिड खोपहरू नपाइरहेकाले उक्त अवस्था आएको हो ।

अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोभिड खोप पाएको छ जबकि अरू अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन् । डा. एल्वर्डले सम्पन्न देशहरूलाई खोपका लागि दिएको अर्डर छोड्न आग्रह गरे ताकि उत्पादक कम्पनीहरूले कम आय भएका मुलुकलाई प्राथमिकतामा राख्न सकून् ।

सम्पन्न देशहरूले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी ७ लगायतका बैठकमा कोभिड खोप सहयोगबारे आफूहरूले जनाएको प्रतिबद्धताबारे ‘समीक्षा गर्न आवश्यक रहेको’ उनले औँल्याए । डा. एल्वर्डले भने, ‘म भन्न सक्छु कि तपाईँहरू सही बाटोमा हुनुहुन्न ।’ ‘हामीले साँच्चिकै गति बढाउन जरुरी छ नभए तपाईँहरूलाई थाहा छ कि यो महामारी जानुपर्ने समयभन्दा एक वर्ष ढिलो गरी जानेछ ।’

परोपकारी संस्थाहरूको एउटा गठबन्धन द पिपुल्स च्यारिटिजले कोभिड खोपसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरे अनुसार उत्पादक कम्पनी र सम्पन्न राष्ट्रहरूले प्रतिबद्धता जनाएका कोभिड खोपका ७मध्ये एउटा मात्रा मात्रै अति गरीब देशहरूमा पुग्न सकेको छ । अधिकांश कोभिड खोप उच्च अथवा मध्यम आय भएका देशहरूले पाएका छन् । विश्वभरि दिइएका खोपमध्ये अफ्रिकाले २.६ प्रतिशत मात्रै पाएको छ ।

प्रतिक्रिया