बेमौसमी वर्षाको वितण्डा : प्रदेश १ मा ४९ जनासहित ७७ जनाको मृत्यु, सयौँ विस्थापित र बेपत्ता
अखबार टुडे
प्रकाशित:
२०७८, ३ कार्तिक
  • जिल्ला ब्यूरो

काठमाडौं, ३ कात्तिक । आइतबारदेखि आएको बेमौसमी वर्षाले ठूलो धनजनको क्षति भएको छ । लगातारको अविरल वर्षापछि आएको बाढी पहिरामा परी प्रदेश १ मा ४९ जनासहित देशभर ७७ जनाले ज्यान गुमाएका छन् भने हजारौँ रेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ ।

विभिन्न मिडियामा आएको समाचार अनुसार सुदूरपश्चिम र प्रदेश १ बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित भएको छ । वर्षापछि आएको बाढीका कारण उठाउन ठिक्क पारिएको किसानको धानबाली नष्ट भएको छ भने सयौँ घरपरिवार विस्थापित भएका छन् । यो रिपोर्ट बुधबार अपरान्हसम्मको हो ।

पछिल्लो प्राप्त समाचार अनुसार बाढी र पहिरोका कारण प्रदेश १ मा ४९ जनाको मृत्यु भएको छ । यो संख्या अझ बढ्न सक्ने प्रदेश–१ का डीआईजी अरुणकुमार बिसीले जानकारी दिए । उनका अनुसार प्रदेश–१ मा बेपत्ता हुनेको संख्या १६ पुगेको छ ।

प्रदेशमा सबैभन्दा बढी पाँचथरमा २१ जनाको मृत्यु भएको छ । डीआईजी बिसीका अनुसार पाँचथरमा ११ जनाको मात्रै मृत्यु पुष्टि भएको छ । यस्तै पाँचथरको मिक्लाजुङ गाउँपालिकामा थप १० जनाको मृत्यु भएको जानकारी आएपनि सञ्चार सम्पर्क नहुँदा पुष्टि हुन बाँकी रहेको उनले बताए ।

यस्तै, इलाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको भने धनकुटामा पहिरोबाट सातजनाको मृत्यु भएको उनले बताए । बाढी पहिरोका कारण सुनसरीमा ४, उदयपुरमा २, भोजपुर र मोरङमा १–१ जनाको मृत्यु भएको डीआईजी बीसीले बताए । सञ्चार सम्पर्क बिच्छेद हुँदा पहाडि जिल्लाहरुबाट पूर्ण विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

डोटी
यस्तै, लगातार परेको अविरल बर्षासँगै बाढी पहिरोका कारण डोटी जिल्लामा १४ जनाले ज्यान गुमाएका छन् । जिल्लाको सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक÷एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । प्रहरीका अनुसार सायल गाउँपालिका–६ कासोमबार राति घरमा सुतिरहेको अवस्थामा पहिरोमा परी १४ बर्षीय सागर कुन्जेडा, ११ बर्षीय आशिष कुन्जेडाको मृत्यु भएको छ । यस्तै सोही गाउँपालिका–१ का ७४ बर्षीष वीरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको छ ।

सायल गाउँपालिका–५ का ५८ बर्षीय लहरे लुहार, ५८ बर्षीय हिरुवा लुहार र ७५ बर्षीय देव डुम्रेलको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिएका छन् ।

जोरायल गाउँपालिका–३ का ७३ बर्षीय जोगी सार्की, ६१ बर्षीया झुपरी सार्की, सोही गाउँपालिका–४ का शेरवहादुर बिक, मोहन बिक, पवित्रा बिक र सोही गाउँपालिका–१ का सचिन बिकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

शिखर नगरपालिका–११ की ३५ बर्षीया मन्धरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । यस्तै बोगटान फुड्सिल गाउँपालिका–५ का चन्द्रा नेपालीको मृत्यु भएको छ । प्रहरी टोली घटनास्थलमा पुगिनसकेका कारण मृतकको सनाखत हुन सकेको छैन ।

बाढी पहिरोका कारण सायल गाउँपालिका–५ का रमेश लुहार, भीम लुहार, करी डुम्रेल, सोही गाउँपालिका–६ का दिलवहादुर कुन्जेडा, बासुदेवी कुन्जेडा र बिन्दा कुन्जेडा घाइते भएका छन् ।

जिल्लाभर घरबस्ती जोखिममा परेका कारण चार सय ५० विस्थापित भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दिपायल सिलगढी नगपालिका–७ कोईरेलीका तीन सय जना र केआईसिंह गाउँपालिका–४ मा एक सय ५० जना गरी चार सय ५० जना विस्थापित भएका छन् ।

बझाङ
बझाङको खप्तड छन्ना गाउँपालिकामा गएको दुईवटा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । जिल्लाको खप्तडछन्ना गाउँपालिका–५ मा गएको पहिरोमा परी स्थानीय ४५ वर्षीय बिरु गिरी र उनकी श्रीमती ३५ वर्षीय चन्द्रादेवीको मृत्यु भएको छ ।

त्यस्तै खप्तडछन्ना गाउँपालिका–६ मा गएको पहिरोमा परी ४९ वर्षीय धनराज जोशी र ६८ वर्षीय रने आग्रीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिएका छन् । बझाङकै थलारा गाउँपालिका–४ मा मंगलबार गएको पहिरोमा परी २३ जना बेपत्तामध्ये दुईजनाको शव भेटिएको छ । शवको पहिचान भने भइनसकेको प्रजिअ अधिकारीले बताए ।

हुम्ला, कालिकोट र जुम्ला
बाढी–पहिरोमा परि हुम्लाको खार्पुनाथ गाउँपालिका–४, खर्पेल गाउँका ६ जना, जुम्ला र कालिकोटका एक÷एकजना ८ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार बाढी–पहिरोबाट तीन जना घाइते भएका छन् । कालिकोट रास्कोट नगरपालिका–८, पलातिवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी छोरी १३ वर्षीय बाँचु न्यौपाने गोठबाट घर जाने क्रममा पहिरोमा परी घईते भएका छन् । नन्दुको दुबै खुट्टामा चोट लागेको र उनको रास्कोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तु

कपिलवस्तुमा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुद्धभुमी नगरपालिका– १० स्थित बिजगौरीमा बाणगङ्गा नदीले २ जना महिलालाई बगाएको हो । बाणगां नदी अन्तर्गत बिजगौरीमा नदी तर्नेक्रममा बुद्धभुमि नगरपालिका– १० ढडीहवाकि ३० बर्सकी सीता थारूको नदीले बगाएर मृत्यु भएको हो ।

सितासँगै नदीमा बगेकी १२ वर्षीया सुजना थारु भने बेपत्ता भएकी छन् । उनको नेपाली सेनासहित सशस्त्र र नेपाल प्रहरीले खोजी गरिरहेका कपिलवस्तु प्रहरी प्रमुख दानबहादुर कार्कीले बताएका छन् ।

प्रतिक्रिया