मेरापिक क्षेत्रमा फसेका १० जनामध्ये तीन जना गम्भीर अवस्थमा फेला
अखबार टुडे
प्रकाशित:
२०७८, ३ कार्तिक


सोलुखुम्बु, ३ कार्तिक ।
मेरा पिक आरोहणका क्रममा बेपत्ता भएका १० जनामध्ये ३ जना आरोही गम्भीर अवस्थामा फेला परेको नेपाल पर्वतारोहण संघले जनाएको छ । बुधबार दिउँसो करीब साढे २ बजे रेस्क्यू टोलीले उनीहरुलाई फेला पारेको संघका अध्यक्ष सन्तबीर लामाले जानकारी दिएका छन् ।
निरन्तरको वर्षातसँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा दुई विदेशीसहित १० जना पर्यटक मेरापिक क्षेत्रमा फसेका थिए । तिमध्येबाट ३ जना फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख कबिता कटवालका अनुसार निरन्तर परेको पानी तथा हिमपातका कारण पाँच हजार ७०० मिटरको मेराला ओडारमा चार, हाइक्याम्पमा चार र पाँच हजार ३०० मिटरको बेसक्याम्पमा दुईजना आरोही फसेका हुन् ।

प्राप्त जानकारीअनुसार मेरालामा फसेका चारमध्ये एक बेलायती नागरिक स्टु सियनसहित सोलुखुम्बुका आरोही गाइडहरु पासाङ छिरिङ, छेतेन शेर्पा र पासाङ शेर्पा रहेका छन् ।
त्यस्तै, हाइक्याम्पमा एक विदेशी पर्यटक, पूर्ण थापा मगरसहित नाम नखुलेका दुई र बेस क्याम्पमा नाम नखुलेका थप दुईजना अलपत्र परेका हुन् । उनीहरु एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरमार्फत मेरापिक आरोहणमा गएका थिए ।
मौसम प्रतिकूलका बीच पनि उनीहरुको उद्धारका लागि महाकुलुङको खारेबाट सातजना क्लाइम्बिङ गाइड मेराला ओडारमा पुगेका छन् ।

एडभेन्चर भिक्टोरी सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार मेराला ओडारमा चारजना बसेको भए पनि उद्धारमा पुगेकाहरुले तीनजनालाई जटिल अवस्थामा भेटेको बताए । हाइक्याम्प र बेसक्याम्पमा रहेकासँग सञ्चित खानेकुरा भए पनि मेराला ओडारमा फसेकाहरुसँग कुनै पनि खानेकुरा नहुँदा समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया