कता हराए बसाइँ नसर्ने र मानिसको वरिपरि रमाउने भँगेरो चरा ?
अखबार टुडे
प्रकाशित:
२०७८, ३ कार्तिक

काठमाडौं, ३ कार्तिक । जङ्गलको सुरक्षित बासस्थान छोडेर मानिसको वरिपरि रमाउने कागलाई मुख्य शत्रु मानिने भँगेरो चरा हराउँदै जान थालेपछि वातावरणको परिस्थितीय प्रणालीप्रति अनेकौँ प्रश्नहरु उत्पन्न हुन थालेका छन् ।

एक दशकअघि सम्म गाउँघरमा बाक्लै देखिने भँगेरो आजकल देख्नै मुस्किल हुन थालेको छ । ‘१०/१२ वर्षअगाडिसम्म हाम्रो आँगनमा सुकाएको बिस्कुन खान प्रशस्त भँगेरो आउँथे तर आज एकमुठी चामल छरिदिँदा पनि त्यो खाइसक्ने भँगेरो छैनन्,’ बेनी नगरपालिका–२का ८५ वर्षीय वेदप्रसाद उपाध्यायले भने ।

वैज्ञानिकहरुको भनाइअनुसार भँगेरो बसाइँ नसर्ने चरा हो र आफ्नो बासस्थानबाट साढे २ किमी वरिपरि मात्र घुमफिर गर्न रुचाउने यो चरा लोप हुनु चिन्ताको विषय भएको भनाइ छ । मानव संरक्षित अर्थात् पर्यावरणीय दृष्टिकोणले मानिससँग सम्बन्धित सबैभन्दा नजिकको चरा भँगेरो कता हराए त रु प्रश्न खडा भएको छ । वातावरण संरक्षणकर्मीहरुका अनुसार भँगेरोको मानिससँग मात्र नभएर वातावरणसँग पनि प्रगाढ सम्बन्ध रहेको हुन्छ । यसले वातावरणको परिस्थितीय प्रणालीलाई सन्तुलन राख्न मद्दत गर्छ ।

लामो समयसम्म वन तथा वातावरण संरक्षणको क्षेत्रमा काम गरेका म्याग्दीका चन्द्रमणि सापकोटाका अनुसार भँगेरोका कारण मानिसमा कुनै पनि नकारात्मक प्रभाव पर्दैन । बरु यसको प्रातःकालीन चिरबिरले मानिसलाई प्रकृतिसँग जोड्ने काम गर्छ । त्यसैले पहिलेका मान्छेले भँगेरोलाई आ–आफ्नो घरमा बास दिने गरेका हुन् ।

वातावरण संरक्षणकर्मीहरुका अनुसार भँगेरोले हानिकारक कीटाणु मार्ने, बीउबिजन फैलाउने, परागकण गराउने, जनावरको मृत अवशेषलाई सफा अर्थात् हटाउने काम गर्छ । जसले गर्दा वातावरणीय सन्तुलन कामय राख्न भँगेरोको मुख्य भूमिका रहेको हुन्छ । कीरा–फट्याङ्ग्रा तथा लामखुट्टेलाई समेत आफ्नो आहारा बनाउने हुँदा लामखुट्टेबाट सर्ने रोग हटाउन पनि भँगेरोको महत्वपूर्ण भूमिका हुन्छ ।

घरआँगनमा डुली हिँड्ने भँगेरो एक प्रकारले जैविक कीटनाशक पक्षी पनि हो । मानिसको घरयसी फुच्चे साथी भनेकै भँगेरो हो । तर पछिल्लो समय यिनीहरु क्रमशः मासिँदै छन् । वर्तमान अधिकार प्राप्त नगरपालिकाको ‘पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन’ स्थानीय सरकार सञ्चालनका सम्बन्धमा बनेको ऐन छ । तर युगौँदेखि मानवसँग सम्बन्धित भई हाम्रै घरघरमा बस्दै आएको पक्षी भँगेरो संरक्षण गर्नुपर्छ भन्ने कुरो सरकारलाई थाहै छैन ।

जुन घरमा भँगेरोको बास हुन्छ, त्यो घरमा कहिल्यै पनि अलक्षिन लाग्दैन र अन्नको समस्या हुँदैन भन्ने परम्परागत मान्यता रहँदै आएको छ । भँगेरोको सम्बन्धमा छिमेकी मुलुक चीनको एउटा रोचक प्रसङ्ग छ । सन् १९५८ मा चीनका तत्कालीन कम्युनिष्ट नेता माओत्सेतुङको नेतृत्वमा ‘किल स्प्यारो क्याम्पियन्स’ सुरु गरिएको थियो । चीनको ग्रामीण क्षेत्रमा गरिएको खेतीपाती भँगेरोले नष्ट गरिदियो र यसैका कारण उत्पादन घट्यो भनेर सन् १९६२ ९करिब ५ वर्षसम्म ‘किल स्प्यारो क्याम्पियन्स’ सञ्चालन गरियो ।

पाँच वर्षको अवधिमा चीनमा लाखौँ भँगरो मारियो । तर परिणाम उल्टो निस्क्यो । त्यो अवधिमा झन् उत्पादन घट्यो । अन्त्यमा सो क्याम्पियन्स बन्द गरेर भँगेरो संरक्षण गर्न थालियो । त्यसपछि उत्पादन पनि वृद्धि हुँदै गयो र भँगेरो संरक्षणमा चिनियाँका चासो पनि बढ्दै गयो ।

भँगेरो लोप हुँदै जानुको मुख्य दुईवटा कारण रहेका जानकारहरुले बताएका छन् । पहिलो बासस्थानको अभाव, दोस्रो दूरसञ्चारको बिटिएस टुरको विकीरण । त्यसैगरी प्रविधिको विस्तारित सञ्जाल पनि भँगेरोलगायत पंक्षीका लागि प्रतिकूल बन्दै गएका विभिन्न अध्ययनहरुले देखाएका छन् ।

मोबाइल सञ्चालन गराउने दूरसञ्चारको बिटिएस टुरको विकीरणले पनि भँगेरो खतरामा परेको कुरा बाहिर आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रत्येक स्थानीय तहले केही रकम लिने र सो रकम भँगेरोलगायत चरा संरक्षण गर्ने वातावरण तयार गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया