आफूले गिनिज बुकको आधा भाग भरिने कामले गरेको बताउँदै ओलीले भने, ‘यो एमाले हो’
अखबार टुडे
प्रकाशित:
२०७८, ३ कार्तिक

काठमाडौं, ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले कुनैपनि काम गर्न नसक्ने बताएका छन् । उनले एमालेले बाहेक अरुले विकासका काम नगर्ने दावी गरे ।

बुधबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले नेतृत्वको सरकारले गिनिज बुकको आधा भाग भरिने गरी काम गरेको समेत दावी गरे । उनले भने, ‘गिनिज बुकको आधा भाग त हामीले गरेको कामले भरिन्छ । यो एमाले हो क्या एमाले ।’

अध्यक्ष ओलीले दुनियाँमा यस्तो कहीँ नभएको दावी गर्दै भने, ‘एकैपटक ६ सय भन्दा बढी स्वास्थ्य चौकी एकैपटक शिलान्यासदेखि २१० वटा बाटो एकैदिन शिलान्यास गरेका छौँ । त्यसकारण त एमाले चाहिन्छ । काम गर्न एमाले चाहिन्छ ।’

अध्यक्ष ओलीले अब पार्टी महाधिवेशनमा जुटिसकेको बताउँदै यो महाधिवेशनले कार्यकर्तामात्र नभएर जनतालाई समेत परिचालन गर्नुपर्ने बताए । उनले केही समयअघि ‘माओवादीले एउटा वडा पनि जित्न गाह्रो हुने’ भनेर प्रचण्डले बोलेको स्मरण गर्दै त्यसलाई आफूले ‘हो हो’ भनेपछि अहिले प्रचण्ड माओवादी देशकै ठूलो पार्टी बनाउने भन्दै हिँडेका बताए ।

साथै, ओलीले ओलीले वर्तमान सरकार निमित्त नायवी सरकार मात्र भएको समेत टिप्पणी गरे । अध्यक्ष ओलीले भने, ‘यो सरकार आलोचना गर्न पनि लायक रहेन । टिप्पणी गर्न पनि लायक रहेन । जसको नायवी छ, पर्दा पछाडि छ, अगाडि छ, अर्काले चलाएको नायवी छ ।’ उनले प्रश्न गर्दै भने, वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्छ ?’

प्रतिक्रिया