उत्तर कोरियाले पनडुब्बीबाट हानिने नयाँ बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, ३ कार्तिक

प्योङयाङ, ३ कार्तिक (एजेन्सी)। उत्तर कोरियाले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
योसँगै दक्षिण कोरियाले यसअघि प्योङ्याङको परीक्षणबारे सार्वजनिक गरेका रिपोर्टको पुष्टि भएको छ । दक्षिण कोरियाली सेनाले जापानी तटदेखि पर समुद्रमा अस्त्रहरूको परीक्षण गरिएको देखिएको मङ्गलवार जनाएको थियो ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले परीक्षण गरिएको क्षेप्यास्त्रमा ‘नियन्त्रणसम्बन्धी उन्नत प्रविधिहरू’ भएको जनाएको छ । यसअघि सन् २०१६ मा एउटा परीक्षण गरिएको ’भेसल’ बाटै पछिल्लो क्षेप्यास्त्रको परीक्षण गरिएको उसले उल्लेख गरेको छ ।

नेता किम जङ–अनबारे समाचारमा केही उल्लेख नगरिएकोले क्षेप्यास्त्र परीक्षणका बेला उनी उपस्थित नरहेको बुझिएको छ । परीक्षण गरिएका अस्त्रमा हाइपरसोनिक र लामो दूरीसम्म मार हान्न सक्ने अस्त्रहरू पनि रहेको बताइन्छ । तीमध्ये कतिपय परीक्षणबाट कडा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको उल्लङ्घन समेत भएको छ ।

मङ्गलवार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको बताउँदै त्यसलाई ‘एकदमै दुःखद कार्य’ भनेका छन् । अमेरिका र जापानले क्षेप्यास्त्र परीक्षणको आलोचना गरेका छन् ।

उत्तर कोरियाले पछिल्ला साताहरूमा एकपछि अर्को क्षेप्यास्त्रको परीक्षण गरेका विवरण आएका छन् । अमेरिका, दक्षिण कोरिया र जापानका गुप्तचर अधिकारीहरू सोलमा भेला भएकै बेला उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणसम्बन्धी समाचार सार्वजनिक भएका छन् ।

प्रतिक्रिया